नेपालगन्ज : ग्यास सिलिण्डर बिष्फोट हुँदा थुप्रै ब्यक्तिको मृत्यु भईसकेको छ, भने कयौं ब्यक्ती घाईते भएका छन् । यदी ग्यास लिक भएको शंका लागेमा विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुख तथा अग्नि नियन्त्रक किशोरकुमार भट्टराई ग्यास लिक भएर कोठा भरिँदा बिजुली बत्ती बाल्न हुन्छ कि हुन्न भन्ने जनचेतना नभएकाले धेरै घटना हुने गरेको बताउँछन् ।
‘धेरै मानिसलाई त ग्यास भरिएको कोठामा बिजुली बत्ती बाल्दा स्पार्क भएर आगलागी हुन्छ भन्ने नै थाहा छैन,’ उनले भने,‘कतिलाई चाहिँ बत्ती बाल्नु हुँदैन भन्ने थाहा छ तर त्यस्तो अवस्था बत्ती निभाउनु पनि हुँदैन भन्ने थाहा छैन ।’
भट्टराईका अनुसार कुनै कोठामा ग्यास भरिँदा त्यो हावासँगै ग्यास बिजुलीको स्विचभित्र पसिसकेको हुन्छ ।स्विच अन वा अफ गर्दा निस्कने स्पार्क (झिल्को) ले हामीले ग्यास जलाउँदा बाल्ने लाइटरको जस्तै काम गर्छ ।
उनले भने, ‘हामीले ग्यास खोलेर लाइटर खट्याक्क गरेर बाल्छौं नि, हो त्यसैगरी स्विच अनरअफ गर्दा पनि स्पार्क निस्किन्छ, त्यसपछि आगो लागिहाल्छ, कोठामा भएको मान्छे ढलिहाल्छ ’ ग्यास लिक भएको शंका लागेको कोठामा जाँदा बिजुली बत्तीको स्विच छुनै नहुने भट्टराई बताउँछन् ।
‘बत्ती बलेको छ भने बल्न दिनुपर्छ, बन्द छ भने खोल्नु हुन्न, बरू कोठाका झ्याल, ढोका खोलेर ग्यासलाई बाहिर जान दिनुपर्छ,’ उनले भने ।