कोहलपुर : निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले बिहीबारबाट कोहलपुरमा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेको छ । निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. श्याम बिक, डा. देवेन्द्र आचार्य, सुशिल कोईराला प्रखर क्यान्स अस्पताल खजुराका स्त्रीरोग विशेषज्ञ डा. ईन्द्र निल घोस र डा. राम बिष्ट तथा स्वास्थ्यकर्मी सहित १५ जनाको टोली खटिएको थियो ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडका वरिष्ठ ब्यवस्थापक जिताराम गौतमका अनुसार कुल १ सय ७ जनाले स्वास्थ्य परिक्षण गराउँदा अधिकांसमा केही न केही समस्या देखिएको थियो । ति मध्ये १० जनाको पाठेघरमा बढी समस्या देखिएको थियो ।
यस्तै ११ जना पाठेघर सम्बन्धी शंकास्पद बिरामीको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । ‘पाठेघर सम्बन्धी समस्या भएका महिलालाई डाक्टरले औषधी दिएर पठाउनु भएको छ, उहाँहरु डाक्टरकै निगरानीमा हुनुहुन्छ,’ गौतमले भने ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडमा आवद्ध समुह सदस्यका लागि दुई दिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । बाँकेमा मात्रै करिव २२ हजार समुह सदस्यहरु रहेको वरिष्ठ ब्यवस्थापक गौतमले जानकारी दिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाहरु स्वस्थ भएपछि मात्र उद्यम, ब्यवसाय गर्न सक्ने भएकाले आफ्नो स्वास्थ्य समय-समयमा चेकजाँच गराउनुपर्ने बताए ।
महिलाले आफ्नो सिपलाई उत्पादनसँग जोड्नुपर्ने औल्याउँदै प्रमुख कार्यकारी अधिकृत पन्तले आयातलाई निरुत्साहित सकेपछि मात्रै स्वदेशी उत्पादनले बजार पाउने बताए । निश्चित उद्धेश्यका लागि लिइएको कर्जा सदुपयोग गरेपछि मात्र उद्यमी सफल हुने उनको भनाई छ ।