नेपालगन्ज : नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले नेता कार्यकर्ताले संगठन सुदृढिकरणमा ध्यान दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस खजुरा गाउँपालिका स्तरीय वार्षिक सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले काँग्रेसको विचार र सिद्धान्त तल्लो तहसम्म पुर्याउनुपर्नेमा जोड दिए ।
काँग्रेसको नीति र सिद्धान्त सही भएपनि तद्अनुरुप व्यवहार हुन नसकेको कुरा उठिरहेकोतर्फ काँग्रेसका सबै तह र तप्काका नेता कार्यकर्ता गम्भीर हुनु पर्ने बताए । उनले राजनीति जनताको हित र भलाईका लागि गरिनुपर्ने भएपनि पछिल्लो समयमा स्वार्थ प्रेरित हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।
जनसेवा र हितका पक्षमा राजनीति गर्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए । सहमहामन्त्री राठौरले स्थापित दलहरुसँग जनता टाढिएका कारण स्वतन्त्रका नाममा विचार विहीनहरुले राजनीतिमा हस्तक्षेप गर्न थालेको बताए ।
सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य आशा बिक, प्रदेश सभा सदस्य बादशाह कुर्मी, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले काँग्रेस अरु दलभन्दा फरक छ र जनताका पक्षमा निरन्तर काम गर्दै आएको छ भन्ने कुरा जनसमक्ष पुर्याउनु नेता कार्यकर्ताको काम भएको बताए ।
कार्यक्रममा संगठन सुदृढिकरणमा योगदान गरेको भन्दै नेपाली काँग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठसहित ७ जना नेताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा हरिप्रसाद ढुंगाना,रामबहादुर थापा, धनबहादुर आचार्य,नवराज थापा, खलिल खाँ र रामबहादुर गुरुङ रहेका छन् । कार्यक्रम खजुरा गाउँपालिका सभापति रमेश सिंजालीको सभापतित्वमा सम्पन्न भएको थियो ।