बाँके (खजुरा) : खजुरा गाउँपालिकामा राष्ट्रिय स्तरको जुडो प्रतियोगिता सुरु भएको छ । खजुरामा रहेको मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको सहकार्यमा शुक्रबारदेखी गाउँपालिकाको वडा नम्बर ३ मा रहेको ज्ञानोदय नमुना माविको प्रांगणमा ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ आयोजना गरेको हो ।
उक्त प्रतियोगिताको खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले बेल्ट हस्तान्तरण गरेर उद्घाटन गरिन् । उनले खजुरालाई चिनाउन जुडा प्रतियोगिताले सहयोग गरेको बताइन् । खजुरा जुडोको हब बन्दै गएपनि जुडोको लागिकुनै पनि भवन नभएकोले गाउँपालिकाले भवन निर्माणका लागि आगामी वर्षदेखि काम गर्ने बताइन् ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीले खजुराको वडा ३ ले खेलकुदमा फड्को मार्दै गएको बताए । उनले वडामा हुने खेलकुदका गतिविधिका लागि वडाले सधैं सहयोग र सहकार्य गर्ने बताए ।
त्यस्तै कार्यक्रममा ज्ञानोदय नमुना माविका प्रध्यानाध्यापक ऋषिराम सापकोटाले जुडो खेलको माध्याम बाट ज्ञानोदयका खेलाडीले अन्तर्राष्ट्रिय स्तर सम्मको प्रतियोगितामा सहभागिता जनाएको बताए ।
कार्यक्रममा मंगोलियन जुडाका अध्यक्ष विजय गुरुङले खजुरामा जुडो खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता उद्घाटन गर्नुअघि आयोजित प्रभातफेरीले खजुरा बजार परिक्रमा गरेको थियो ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशबाट बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, महेन्द्रनगर, धनगढी, कास्की लगायतका जिल्लाबाट ९ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा करिव १ सय ५० खेलाडी र १८ जना अफिसियलको सहभागिता रहेको छ ।