नेपालगन्ज : 'लुम्बिनी प्रदेश स्तरीय महिला उद्यम प्रदर्शनी-२०७९' शुक्रबारबाट सुरु भएको छ । उक्त प्रर्दशनीको प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी नमुनाले उद्घाटन गरिन् ।
महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा प्रर्दशनी सुरु भएको हो । उक्त प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु, उद्यम र उत्पादनलाई प्रदर्शनीमा राखिएको छ ।
महिला उद्यमीलाई बजारीकरणमा सहयोग गर्दै प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला र कर्णाली प्रदेशको सुर्खेतबाट समेत महिला उद्यमीहरु आएका छन् ।प्रदर्शनी उद्घाटन गर्दै प्रदेश मन्त्री केसीले घरमै उत्पादन गरेर निर्माण गरेका वस्तु र उत्पादनलाई प्रचार गर्नमा प्रदर्शनीले ज्यादै सहयोगी भुमिका खेल्ने बताइन् ।

प्रदर्शनीको सदुपयोग गर्न महिला उद्यमीलाई उनले आग्रह गरिन् । ‘हाम्र्रो समाजमा महिलालाई अगाडी बढन त्यति सहज छैन, हरेक क्षेत्रमा महिलाको सहभागिता न्युन छ, संविधानले व्यवस्था गरेको कुरा पनि पाउन सहज छैन, यस्तो अवस्थामा महिलाहरु आफैं आत्मनिर्भर भएर आफनो क्षमताको विकास गरेर अगाडी बढन सक्नु पर्छ,’ उनले भनिन् ‘आफु मन्त्री भएको कारण महिला उद्यमीको भावना अनुसारको काम र एजेण्डालाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’
यस्तै लुम्बिनी प्रदेशका सांसद माया पुनले घर व्यवहारको जिम्मेवारी निर्वाह गर्दै आर्थिक समृद्धिको क्षेत्रमा काम गर्नु महत्वपुर्ण कुरा भएको बताईन् । महिलाहरु परिवर्तनको शिखरमा भएकोले उद्यमका क्षेत्रमा आत्मविश्वासका साथ अगाडी बढन जरुरी रहेको पुनले बताईन ।
अर्का प्रदेश सभासद मिना श्रेष्ठले लुकेर बसेका अवसर नपाउने महिलाहरुलाई प्रदर्शनीले ज्यादै नै ठुलो गुन लगाएको भन्दैं महिला उद्यमी संघ नेपाल बाँकेले निकै उत्कृष्ट कार्य गरिरहेको बताईन् । संघको गतिविधिले महिलाहरुलाई गर्व गर्ने अवसर दिएको भन्दैं श्रेष्ठले संघका हरेक कार्यक्रममा आफुले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् ।

महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष निरुपमा रस्तोगीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदर्शनी संयोजक साबित्रा बस्नेतले महिला उद्यमीको अवस्थाको बारेमा बताएकी थिईन् ।
सो क्रममा महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेश संयोजक एवम् केन्द्रिय सदस्य सरस्वती शर्मा, महिला उद्यमी संघ नेपाल बाँके पुर्व अध्यक्ष कुसुम बस्नेतले शुभकामना मन्तव्य राखेका थिए, भने कार्यक्रम सञ्चालन नितु शाह चन्दले गरेकी थिइन् ।
उद्घाटनका क्रममा लुम्बिनी प्रदेशका मन्त्री केसी, प्रदेश सांसद पुन र श्रेष्ठलाई आयोजकले सम्मान गरेको थियो । यही फागुन ९ गते सम्म चल्ने प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्युठान र सुर्खेत लगायतका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिनेछन् ।
नेपालगन्ज उपमहानगरपालिका कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा सुरु भएको प्रदर्शनीमा करिव ६० वटा स्टल राखिएको आयोजकले जनाएको छ ।
