नेपालगन्ज : कैलाली जनपुस्तकालय धनगढीले २०७९ को हर्ष-पार्वती लोक सँस्कृति पुरस्कार लेखक तथा लोक साहित्य अनुसन्धानदाता गोविन्दप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
तातोपानी गाउँपालिका गिडीखोला जुम्लामा जन्मेका उनी हाल चन्दननाथ टोल नेपालगन्जमा बसोवास गर्छन् । उक्त पुरस्कार यही फागुन २० गते पुस्तकालयको वार्षिक उत्सवको अवसरमा प्रदान गरिनेछ ।
लेखक पाण्डे विगत दुई दशकदेखि काली कर्णाली क्षेत्रको लोक साहित्य तथा सँस्कृतीको अध्ययन अनुसन्धान तथा प्रकाशन क्षेत्रमा सकृयतापूर्वक निरन्तर लागेका छन् । उनले २०६० सालमा काली कर्णालीका जाजरकोटदेखि दार्चुला सम्मका जिल्लामा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्नब्यक्तितथा संस्थाको गहनअध्ययनअनुसन्धान गरेर देउडा विगतदेखि वर्तमान सम्म नामक पुस्तक समेत प्रकाशन गरेका थिए ।
पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखन वृतिमा कर्णालीको लोक साहित्यको अध्ययन समेत गरेका छन् ।उक्त कृति हाल प्रकाशोन्मुख अवस्थामा रहेको छ । उनले मधुपर्क, यूवामञ्च, मिर्मिरे, कान्तिपुर, गोरखापत्र लगायत क्षेत्रीय तथा स्थानीय स्तरका पत्रपत्रिका र स्मारिकामा देउडा, लोक साहित्य तथा सँस्कृति सम्बन्धी लेख रचना समेत प्रकाशित गरिसकेका छन् ।
हाल जिल्ला हुलाक कार्यालय बाँकेको कार्यालय प्रमुख पदमा कार्यरत पाण्डे कर्मचारी मिलन केन्द बाँकेको उपाध्यक्ष समेत हुन् । उनी नेत्र ज्योती संघ नेपाल, नेपाल रेडक्रस सोसाइटी, मानव सेवाआश्रम लगायतका संघ, संस्थामार्फत समाज सेवामा सक्रिय रुपमा संलग्न रहेका छन् । पाण्डेलाई नेपाल सरकारले यस वर्ष पचास हजार राशीको निजामती सेवा पुरस्कार समेत प्रदान गरेको छ ।