कोहलपुर : कोहलपुर नगर सभापति पदका लागि आफुले उम्मेदवारी दिने वर्तमान नगर सचिव भुम भण्डारीले बताएका छन् । यसअघि समाचारका विषयमा प्रतिक्रिया लिन फोन गर्दा नेता भण्डारीको फोन उठेको थिएन । सचिव भण्डारीले कोहलपुर नगर सभापतिका लागि आफु योग्य उम्मेदवार रहेको भन्दै गुटका नाममा सहिद नहुने स्पष्ट पारे ।
‘म गुटका नाममा सहिद हुदैन, यतिका वर्षपछि पार्टीको महाधिवेशन हुदैछ, म आफैमा सक्षम ब्यक्ति हुँ, कोहलपुरमा मेरा अरु कसैसँग पनि तुलना हुन सक्दैन,’ उनले भने । नगर सभापतिमा उठ्ने भण्डारीको चर्चा यसअघि पनि चलेको थियो । तर, उनलाई संस्थापन(देउवा) पक्षले मनाउन खोजेको थियो । कोहलपुरका केही नेताले नै उनलाई प्रदेश, क्षेत्र वा जिल्लामा सेटल गर्ने सहमती भइसकेको दावी गरेका थिए ।
तर भण्डारीले आफ्नो अडान कायमै रहेको बताएका छन् । आफु विगत २८ वर्षदेखी कांग्रेसको राजनीतिमा क्रियाशिल रहेको भन्दै उनले कोहलपुरमा आफ्नो राजनीतिको ठेक्का लिने हैसियत कसैसँग नभएको बताए । ‘क्रियाशिल सदस्यको टुंगो लागेको छैन, वडाको अधिवेशन हुन पाएको छैन, मेरो ध्यान अहिले यतातिर केन्द्रित छ,’ उनले भने ‘समय आएपछि उमेदवारी दिउँला भनेर पर्खिरहेको छु ।’
भण्डारी नेपाल बिद्यार्थी संघ हुदै पार्टीको राजनीतिमा आएका हुन् । नेता नेता भण्डारी तत्कालिन द्धन्द्धका बेला रुकुममा बिद्रोही माओबादी र सरकारी पक्षबाट पीडित भएका थिए । उनी नेपाल बिद्यार्थी संघको निमावि, मावि, क्याम्पस इकाई, स्ववियु हुदै केन्द्रिय सदस्य भएका थिए । पार्टीको १३ औं महाधिवेशनमा कोहलपुर नगरको सचिवको जिम्मेवारी पाएका हुन् ।