नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सार्वजनिक न्याय विरुद्धको कसुरमा उनी विरुद्ध गत माघ १८ मा पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएपनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।
पूर्व मन्त्रीसमेत रहेका सर्वदेव प्रसाद ओझाले सार्वजनिक न्याय विरुद्धको कसुरमा दिएको मुद्दामा अदालतले पक्राउ आदेश दिएको हो । मनीषा एग्री कन्सर्न नेपालगन्जको तर्फबाट ओझाले ठगी कसुरमा मुद्दा हालेका थिए ।
मनीषा एग्री कन्सर्न र भारतमा रहेको मनीषा एग्री बायो टेक कम्पनी प्रा।लि। हैदराबाद बिच भएको सम्झौता अनुसार आयात हुने सामग्रीको भन्सार क्लीरिङ्गको जिम्मेवारी पाएका कमरुद्दिन विरुद्ध ठगीको मुद्दा परेको हो ।
२०६२ सालदेखि २०६९ सालसम्म कमरुद्दिनले भन्सार एजेन्टको रूपमा काम गरेका थिए । ओझाले कमरुद्दिनले भन्सार एजेन्टका रूपमा काम गर्ने क्रममा भन्सार, क्वारिन्टिन र अदालत समेतलाई भ्रममा पारेको बताए । उनका अनुसार अनुसन्धानका क्रममा कमरुद्दिन राईको नागरिकता र अन्य कागजातमा बाबुको नाम फरक भएको पुष्टि भएको छ । नागरिकतामा बाबुको नाम गोवरे कवडिया छ, भने भारतबाट पैठारी गर्ने मनीषा एग्री बायो टेक कम्पनी प्रा.लि.को कागजातमा अकबर अलि उल्लेख छ ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले कमरुद्दिन विरुद्ध सार्वजनिक न्याय विरुद्धको कसुरमा मुद्दा परेको र अनुसन्धान भइरहेको जानकारी दिए । ओझाले अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न आलटाल गरेको आरोप लगाए ।
यसबारे बुझ्दा उपप्रमुख कमरुद्दिन राईले आफूले बाबुको नाम र ठेगाना फरक नराखेको बताए । गलत नियतले मुद्दा चलाइए पनि अदालतले सफाइ दिएको उनको भनाइ छ । ‘पक्राउबारे मलाई कुनै जानकारी छैन, उहाँ (सर्वदेव ओझा)ले मुद्दा हाल्नु भएको थियो ।
जिल्ला र उच्च अदालत दुवैले सफाइ दियो । चित्त नबुझेपछि उहाँ सर्वोच्च अदालत जानु भयो,’ उनले भने, ‘मैले गलत ठेगाना राखेको छु भनेर उहाँले मुद्दा हाल्नु भएको रहेछ, मैले दुई दुई पटक चुनाव लडेको छु, पार्टीको जिल्ला अध्यक्षसमेत भइसकेको छु, मैले गलत ठेगाना राखेको भए निर्वाचन आयोगले निर्वाचनमा भाग लिन स्वीकृत दिन्थ्यो र ?’ स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुखमा कमरुद्दिन राई विजयी भएका थिए । -प्रशासन डटकमबाट साभार