दाङ (अमिलिया) : लमही नगरपालिका-९ अमिलिया दाङका जानकीलाल बस्नेत ७५ वर्षको वृद्ध अवस्थामा आफुभन्दा आधा उमेरकी किशोरीको ‘मायाँजाल’ मा पर्दा सर्वश्व गुमाएर घर न घाटको भएका छन् ।
तुलसीपुर-५ निवासी करिव ३८ वर्षीया कमला थापासँग प्रेममा परेका बस्नेत अहिले १२ कट्ठा १५ धुर जग्गा, सुन र चाँदीका गहना तथा नगद समेत गरी करिव एक करोड रुपैयाँ बराबरको जायजेथा गुमाएर सडकमा पुगेका छन् । बस्नेत गत जेठ अन्तिमदेखि कमलाको प्रेममा परेका थिए ।
उनीहरुलाई भेट गराउने काम गीता सुनार नामकी महिलाले गरेकी थिईन । सामान्य चिनजानबाट सुरु भएको उनीहरुको सम्बन्ध फोनमा कुराकानी गर्दा गर्दै प्रेममा परे । आफु ७५ वर्षको भएको र सहारा पनि कोही नभएकाले विवाह गरेर सँगै बस्ने सल्लाह भएको उनले सुनाए । करिव १० वर्षअघि नै श्रीमतीको निधन भएपछि आफू सहारा बिहिन भएको उनको भनाई छ ।
‘पहिलो पतिसँग डिभोर्सका लागि अदालतमा मुद्दा दिएको र त्यो फैसला भएपछि विवाह गर्ने भनेर बाचा गरेकी थिईन,’ बस्नेतले भने । ‘मलाई बाँचुन्जेल साथ दिन्छु भनेपछि मैले विश्वास गरें,’ उनले भने ‘त्यसपछि मेरो नाममा भएको सबैथोक कानुनी रुपमै जिम्मा लगाएँ ।’ २०७९ कात्तिक २८ मा आफुले १२ कट्ठा १५ धुर जग्गा कमलाको नाममा पास गरिदिएको बस्नेतले खुलाएका छन् ।
आफुसँग भएको जग्गा, गहना र नगद समेत लिएपछि कमला सम्पर्कमा आउन छाडेको उनको भनाई छ । त्यसपछि आफु ठगिएको शंका लागेको बस्नेतले वताए । ‘बिस्तारै केही जग्गा बेचेको र केही जग्गा बाबा फर्ममा धितोमा राखेर १६÷१७ लाख ऋण लिएको भन्ने कुरा सुनें,’ बस्नेतले भने ‘त्यसपछि मैले आफू ठगिएको भनेर प्रहरीमा उजुरी दिएको छु, उनलाई प्रहरीले पक्राउ पनि गरेको छ ।’
बुढेसकालमा साथ दिने मान्छे खोज्दा झनै सहारा बिहिन भएको भन्दै बस्नेत अहिले पछुताएका छन् । उनले भने, ‘अब मेरो बस्ने ठाउँ छैन, भएको सम्पत्ति अर्कैको नाममा गरिदिएँ, छोरा छोरीले पनि अब हेर्दैनन्, अब त्यो जग्गा फिर्ता पाएन भने म मर्नुको विकल्प छैन ।’ बस्नेत अहिले न्यायका लागि दाङको तुलसीपुर र घोराहीतिर भौतारिरहेका छन् ।