नेपालगन्ज : नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंरले रबि लामिछानेले घण्टी बजाउँदैमा भ्रष्टाचार उन्मुलन नहुने जिकिर गरेका छन् । नेपाल शिक्षक संघ बाँकेको ९ औं जिल्ला अधिवेशनलाई नेपालगन्जमा शनिबार सम्बोधन गर्दै उनले भ्रष्टाचारलाई नियन्त्रण गर्न मात्र सकिने बताए ।
‘रबि लामिछानेले घण्टी बजाउँदैमा भ्रष्टाचार उन्मुलन हुन्छ ?’ प्रश्न गर्दै भने ‘कोही पनि प्रधानमन्त्री बनेर भ्रष्टाचारलाई उन्मुलन गर्न सक्दैन, हामीले भ्रष्टाचार नियन्त्रण गर्न प्रयत्न गर्ने हो ।’ लोकतन्त्रवादीले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने बताउँदै उनले भने, ‘जो सक्षम छ, त्यसको नेतृत्वलाई स्वीकार गर्न सक्नुपर्छ ।’ सबभन्दा ठुलो कुरा राष्ट्र भएको र देश राम्रो भएपछि मात्रै सबै राम्रो हुने तर्क गरे ।
शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादवको सभापतित्वमा सम्पन्न अधिवेशनलाई विशिष्ट अतिथी एवम् नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दोर्ण ओली, नेपाल शिक्षक संघ बाँकेका पुर्वअध्यक्ष बलराम यादव, राष्ट्रिय शिक्षक संगठन बाँकेका अध्यक्ष रेखा धिताल, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले सम्बोधन गरेका थिए ।
संघ बाँकेका उपाध्यक्ष शेखर रावतले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन सचिव ऋषिराज शर्माले गरेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, कृष्ण कार्की, सचिव सुधान्सु कोईराला, शिक्षक संघ लुम्बिनी प्रदेश समितिका सदस्य रमेशकुमार मिश्र, बाँकेका पुर्वअध्यक्ष रुद्रबहादुर ओली, समाजवादी शिक्षक संघ बाँकेका अध्यक्ष आदित्य कुमार बर्मा लगायत अतिथीहरुको सहभागिता रहेको थियो ।
अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गर्नेछ । नयाँ नेतृत्वका लागि नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका सचिव समेत रहेका शिक्षक नेता तोजिन्द्र बि.क, शिक्षक संघ बाँकेका उपाध्यक्ष शेखर रावत, सचिव ऋषिराज शर्मा, शिक्षक संघ नेपालगन्ज उपमहानगरपािलकाका निर्वतमान अध्यक्ष मनोजराजा श्रीवास्तवको नाम चर्चामा रहेको शिक्षकहरु बताउँछन् ।