काठमाडौं : सिन्धुलीमा बस दुर्घटना हुँदा सहचालक सहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा बसका चालक सहित ३० जना घाइते भएका छन् । ओखलढुंगाबाट काठमाडौँ तर्फ जाँदै गरेको बस मध्य पहाडी राजमार्गमा दुर्घटनामा परेको हो ।
ओखलढुंगाबाट काठमाडौँ तर्फ आइरहेको बा २ ख ६५९६ नम्बरको बस मध्य पहाडी राजमार्गस्थित सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिर भन्ने स्थानमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जिवी दाहालले जानकारी दिएका छन् ।
दाहालका अनुसार राजमार्गको भित्तामा बस ठोक्किएर दुर्घटना हुँदा तीन महिला १ र तीन पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बसका सहचालक ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका ६ का २४ वर्षीय देवबहादुर सार्की, सोही जिल्लाको सिद्धिचरण नगरपालिका २ बस्ने २९ वर्षीय पेशल भुजेल, उदयपुर जिल्लाको कटारी नगरपालिका २ की अन्दाजी ३५ वर्षीय कुमारी क्याप्छाकी मगर, ओखलढुंगा सिद्धिचरण नगरपालिका ५ की ३२ वर्षीय जोशना राई, ओखलढुंगाकै चिसंखु गाउँपालिका ४ को संजित राई, र ओखलढुंगा सिद्धिचरण गाउँपालिका ५ की ४० वर्षीय राधा भुजेको रहेका छन् ।
यस्तै दुर्घटनामा परि तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गम्भीर घाइते हुनेमा सोलु जुगु गाउँपालिका बस्ने शान्ता सेन्चुरीको छोरा वर्ष ३ को सनिम सेन्चुरी, ओखलढुंगा मानेभन्जयाङ गाउँपालिका ६ बस्ने २४ वर्षीय श्रीदेवी राई र एक जना नाम नखुलेका पुरुष गम्भीर घाइते भएको र उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जिवी दाहालले जानकारी दिए ।
अन्य २६ जना घाइतेलाई सिन्धुलीको गोलञ्जोर गाउँपालिका खुर्कोट स्थित शुभजिवन अस्पताल तथा सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस भित्तामा ठोक्किएकाले बसको देब्रे साइडका यात्रुको मृत्यु भएको बताइएको छ ।
बसका चालक काभ्रे पाँचखाल नगरपालिका १ का ४५ वर्षीय लालबहादुर तामाङ दाहिने आँखामाथि चोट रहेको र सामान्य उपचार पश्चात थप उपचारका लागि केएमसी अस्पताल सिनामङगल काठमाडौँ पठाइएको डिएसपी दाहालले जानकारी दिए ।