नेपालगन्ज : चार्डपर्व नजिकिएसँगै भारतबाट फर्किने नेपालीको चाप बढेको छ । नेपालीको चाप बढेसँगै त्यस क्षेत्रमा होटल ब्यवसायी, अटोरिक्सा र विचौलियाबाट ठगिने क्रम पनि सुरु भएको छ । सिमा क्षेत्रमै पुग्ने होटल ब्यवसायी, अटोरिक्सा र विचौलियाका कारण भारतबाट फर्किने नेपाली नागरिक वाक्क हुने गरेका छन् ।
‘भारतबाट नेपाल छिर्न पाएको छैन, हात समातेरै कसैले अटोरिक्सामा बसाए, कोही आएर मेरो होटलमा जाउँ भन्दै तछाड मछाड गर्न थाले,’ भारतबाट फर्केका एक नेपालीले भने ‘आफ्नै देशमा यस्तो देख्दा साह्रै नरमाईलो लाग्यो ।’ त्यसरी नेपाली नागरिकलाई सताउने र ठग्ने अटोरिक्सा, होटल ब्यवसायी र विचौलियालाई प्रहरीले विशेष निगरानी बढाएको जनाएको छ ।
जमुनाहा नाकाबाट बुधबार मात्रै नेपालीलाई ठग्न खोज्ने दुई जना विचौलिया प्रहरीको फन्दामा परे । सिमा क्षेत्रमा नेपाली नागरिकले सास्ती पाएको जनगुनासो बढेपछि बुधबार नै बाँकेका प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारी र डिएसपी मधुसूदन न्यौपानेले छड्के अनुगमन गरेका थिए ।
सो क्रममा एसपी अधिकारी र डिएसपी न्यौपाने आफैले त्यहाँको अनौठो दृश्य देखे । दुबैले उनीहरुलाई पक्राउ गरेका हुन् । विचौलियाले नेपाली मजदुरलाई होटलमा पुर्याईदिने भनि मोटो रकम असुल्ने गरेको जनगुनासोका आधारमा निगरानी बढाउँदा पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) मधुसुधन न्यौपानेले आफ्नै आँखाले सिमाको अस्तब्यस्तताको स्थिती देखेपछि दुई जनालाई पक्राउ गरिएको बताए ।
‘भारतबाट आउने नेपालीलाई सताउन सिमा क्षेत्रमा अटोरिक्सा, होटलवाला र विचौलिया जाँदा रहेछन्, गलत काममा संलग्न त्यस्ता ब्यक्तिलाई हामीले पक्राउ गरेका हौं,’ उनले भने । होटल ब्यवसायी, अटोरिक्सा र विचौलियाले नेपालीलाई ठग्ने गरेको गुनासो बढ्दै आएको छ ।
कतिपय यात्रुसँग जमुनाहादेखी बसपार्कसम्मको भाडा ७ सय रुपैयाँ सम्म लिएको गुनासो बढेको छ । जमुनाहा नाका भएर दैनिक रुपमा अचेल करिव एक हजार ५ सयदेखी २ हजारको हाराहारीमा नेपाली नागरिक भारतबाट आउने गरेको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) पूर्ण केसीले जानकारी दिए ।
‘अहिले भारततर्फ जानेभन्दा स्वदेश फर्किनेको संख्या धेरै छ, दसैँ तिहार जस्ता महत्वपूर्ण चार्डपर्व नजिकिएका कारण भारत गएका नेपाली नागरिक धमाधम फर्किरहेका छन् ।’
एकैदिन १७ जना प्रहरी जिल्ला तानिए
सिमा क्षेत्रमा आवत जावत ब्यवस्थापन गर्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार १७ जना प्रहरीलाई तानेको छ । ईप्रका जमुनाहा ईन्चार्ज पूर्ण केसी बाहेक अन्य १७ जनालाई जिल्लामा तानेर उनीहरुको ठाउँमा नयाँ प्रहरी पठाइएको बाँके प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए ।
‘सिमा क्षेत्रको गुनासो धेरै आएपछि म र एसपी साब आफै मुख छोपेर सिभिल डे«समा खटिएका थियौं, आफ्नै आँखाले नराम्रो दृश्य देखेपछि त्यहाँ रहेका १७ जना प्रहरीलाइ एक घण्टामै फेरबदल गर्यौं,’ उनले भने । ईप्रका जमुनाहाका ईन्चार्ज केसी पनि विशेष निगरानीमा रहेको डिएसपी न्यौपानेले बताए । सिमा क्षेत्रमा जिप्रका बाँकेले सादा पोशाकमा छुट्टै प्रहरी पनि खटाएको उनले जानकारी दिए ।