दाङ : लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एक दिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्याउन सफल भएको जनाउँदै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई जनही एक लाख रुपैयाँ सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले आइसिसी लिग-२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सहित खेलाडीलाई सम्मान गरिने जानकारी दिए ।
नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, कुशल मल्ल, मौसम ढकाल, गुल्मीका सोमपाल कामी र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।
त्यस्तै यु-१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका लुम्बिनी प्रदेशका पाँच खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको उनले बताए ।
हालै युएईमा सम्पन्न यु-१९ एसिया छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यु-१९ का कप्तान रुपन्देहीका देव खनाल, दुर्गेश गुप्ता, कपिलवस्तुका आकाश त्रिपाठी, बर्दियाका विशालविक्रम केसी र अर्घाखाँचीका उत्तम थापामगरलाई नगद सहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।