नेपालगन्ज : बेला–बेलामा चर्चामा आईरहने ब्यक्ति हुन्, मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाई । झापामा रहेको बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशकसमेत रहेका प्रसाईलाई चिन्ने अनेक प्रसंङ्ग र काण्ड छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएपछि उनको चर्चा एकाएक चुलिएको थियो । मार्सी चामलको भात खुवाएर सरकारबाट प्रस्तावित बिएण्डसी मेडिकल कलेजको सम्बन्धन लिन खोजेको भनि उनले ठुलो आरोप खेप्नु परेको थियो ।
चर्चामा आईरहने प्रसाईले पछिल्लो समयमा एउटा अभियान चलाएर फेरी चर्चा बटुल्ने प्रयास गरेका छन् । यसका लागि उनी देश दौडाहा निस्किरहेका छन् । युवा युवतीलाई भेला गरेर उनले आफ्ना कथा-कहानी बताउँछन् । ‘म जे गर्छु, नेपाल र नेपालीका लागि गर्छु’ भन्ने अभियान लिएर प्रसाई विभिन्न जिल्लामा पुगिसकेका छन् । उनले आफ्नो अभियानमा युवा युवतीलाई नै किन केन्द्रित गरिरहेका छन् ? प्रसाईको यो अभियानले धेरैलाई झस्काइदिएको छ ।
नेपालगन्जमा बुधबार आयोजित कार्यक्रममा उनले आफ्नो संघर्ष, दुःखकष्ट र सरकारले आफुलाई गरेको ब्यवहारप्रति दुःख पोखे । सो क्रममा उनले आफुजस्ता २०/२५ जना मान्छे बौलाउने हो भने यो देशको पुरै कायापलट हुने उद्घोष गरे ।
मेडिकल कलेज बनाउँछु भन्दाखेरी धेरैले आफुलाई बौलाहा भनेको स्मरण गराउँदै भने, ‘मैले मेडिकल कलेज बनाउँछु भन्दाखेरी मलाई बौलाहा पनि भने, मैले अस्पताल बनाउन खाडल खन्दाखेरी अब पोखरी बन्दै रहेछ, अब माछा खान पाइने भयो भनेर गिज्याउने काम पनि गरे, तरपनि मैले हिम्मत हारेन, दुई वर्ष पछाडी नेताहरुलाई लिएर अस्पताल उद्घाटन गर्दाखेरी पनि मैले भनेको थिए केही गर्नलाई बौलाउनै पर्छ ।’
उनले 'दुर्गा प्रसाई जस्ता मान्छे' बोलाउनै पर्ने बताए । यो देशमा केही गर्ने हो भने बौलाउनै पर्ने बताए । ‘२० देखी २५ जना दुर्गा प्रसाई जस्ता मान्छे बौलाएपछि यो देशले कायापलट गर्नेछ भनेर मैले आज भन्दा ७/८ वर्ष पहिला पनि भनेको थिए, ७/८ वर्षको बीचमा मलाई सरकारले मेरो लाईसेन्स रोक्यो,’ उनले भने ‘मैले भएभरको श्री सम्पत्ती बैंकमा राखेर मेडिकल कलेज बनाए, आज सम्म सरकारले चलाउने स्वीकृती दिदैन, भनेपछि लगानी मैत्री वतावरण कस्को सुरक्षित भयो त ?’
आफुले हजारौं ब्यक्तिलाई स्वदेशमै रोजगारी दिएको दाबी गरे । जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष मोहित शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया, एमाले नेता दत्तप्रसाद आचार्य, अधिकारकर्मी सुरेशकुमार गौतम, महिला उद्यमी मिना ढकाल लगायत विभिन्न स्थानबाट आएका युवा, युवती सहभागी भएका थिए ।
भिडियो हेर्नुस् :