नेपालगन्ज : पश्चिम नेपालको पुरानो क्याम्पसका रुपमा चिनिने महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा बुधबार बेग्लै खालको उत्साह देखिन्थ्यो । लामो समयसम्म हुन नसकेको स्ववियु निर्वाचनका कारण बिद्यार्थी मात्र नभएर सिंगो क्षेत्रको ध्यान केन्द्रित भयो ।
उक्त क्याम्पसमा निर्वाचनका लागि कुल ४ हजार १ सय २२ मतदाता रहेकोमा १ सय ६ सय ९१ जनाले मात्र मतदान गरेको पाइएको छ । तर, निर्वाचनमा आफ्ना पक्षका उम्मेदवारलाई जिताउन पार्टीका नेता, सांसददेखी स्थानीय जनप्रतिनिधी समेत उपस्थित भएका थिए । २०६५ साल यता महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।
निर्वाचन समितिका अनुसार स्ववियु सभापति पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । सभापति पदका लागि नेपाल बिद्यार्थी संघबाट जीवनराज सुवेदी र अनेरास्ववियुबाट माधब खत्री प्रतिस्पर्धामा रहेका छन् ।
यसैगरी अखिल क्रान्तिकारी विद्यार्थी संघबाट भावना थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)बाट सुजन परियार र स्वतन्त्र उम्मेदवार मुकेशसिंह कुँवर पनि सभापतिका उम्मेदवार बनेका छन् । सचिवमा नेविसंघबाट नरदेव थारु तथा संयुक्त प्यानलबाट हरेन्द्रबहादुर विक प्रतिष्पर्धामा रहेको बताइएको छ ।
यस्तै कोषाध्यक्षमा नेविसंघबाट देवी रेग्मी र संयुक्त प्यानलबाट भरत बुढथापाबीच प्रतिष्पर्धा छ । प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्ष र ८ जना सदस्यका लागि निर्वाचन भएको छ । भने बाँकी पदमा समानुपातिक प्रणालीबाट मतदान भएको क्याम्पसका निर्वाचन अधिकृत टिआर जमरकट्टेलले जानकारी दिए ।
यस क्षेत्रको ठूलो र पुरानो क्याम्पस भएकाले पनि यहाँको निर्वाचनलाई सबै राजनितिक दलहरुले चासोका साथ हेरेका छन् । विहान ८ बजेदेखि सुरु भएको मतगणना अपरान्ह ४ बजेसम्म चलेको थियो । निर्वाचनबाट २५ जना प्रत्यक्ष र ३१ जना समानुपातिक गरि ५६ जना निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।
यस पटकको निर्वाचनमा नेविसंघ र अनेरास्ववियु बीच कडा प्रतिष्पर्धा हुने संकेत देखिएको छ । काँग्रेस निकट नेविसंघले नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनसँग तालमेल गरेको छ, भने एमाले निकट अनेरास्ववियुले पनि संयुक्त गठबन्धन बनाएको छ ।