बाँके (फत्तेपुर) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित जनसिद्धेश्वर बहुमुखी क्याम्पसका पुर्वस्ववियु सभापति चित्रकला पुनले पार्टी परित्याग गरेको नामावलीमा नेपाली काँग्रेस बाँकेले आफ्नो नाम राखेको भन्दै आपत्ति जनाएकी छन् । नेपाली काँग्रेसका लुम्बिनी प्रदेश प्रतिनिधी समेत रहेकी उनले एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएकी हुन् ।
काँग्रेस बाँकेले भर्खरै सम्पन्न सम्मेलनमा पेश गरेको बार्षिक प्रतिवेदनमा क्षेत्र नम्बर १ अन्तरगत बाँके राप्ती सोनारी ६ बाट पार्टी परित्याग गरेकाहरुको नामावलीमा आफ्नो नाम समावेश गरेको भन्दै गम्भिर आपत्ति प्रकट गरेकी हुन् ।
‘सो प्रतिवेदनमा मेरो नाम समेत समावेश हुनाले म जस्तो इमान्दार, कर्मठ, लगनशिल र पार्टीप्रति वफादार सिपाही कार्यकर्ताको मनोभावना कमजोर हुनुका साथै मेरो आत्म सम्मानमा चोट पुगेको छ,’ उनले विज्ञप्तीमा लेखेकी छन्, ‘तत्काल बार्षिक प्रतिवेदन तपसिलका बुँदामा रही सच्याउन जिल्ला कार्यसमिति बाँकेलाई हार्दिक अपिल गर्दछु ।’
विज्ञप्तीमा नेतृ पुनले नेपाली काँग्रेस बाँकेको अभिलेखबाट पार्टी परित्याग गरेको नामावली सूचीबाट आफ्नो नाम हटाउन जोडदार माग गरेकी छन् । साथै पार्टीको जिल्ला अनुशासन समितिले गरेको कारबाहीको सिफारिस सूचीबाट नाम सच्याउन उनले अपिल पनि गरेकी छन् ।
हालै सम्पन्न जनसिद्धेश्वर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अहोरात्र खटि नेविसंघको प्यानललाई अत्यधिक बहुमतले विजयी गराउन सफल भई आफ्नो जिम्मेवारी हस्तान्तरण गरी पार्टीले दिएको जिम्मेवारी कुशलतापुर्वक पुरा गरेको नेतृ पुनले ध्यानाकर्षण गराएकी छन् ।
पार्टीको विधान र नियमावलीमार रही पार्टी संगठन विस्तार र पार्टी सुदृढीकरण कार्यमा कटिवद्ध र इमान्दारीका साथ क्रियाशिल रहँदै सदैव एकजुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न तत्पर रहने उनले विज्ञप्ती मार्फत प्रतिवद्धता जनाएकी छन् ।