बाँके (नरैनापुर) : स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट गाउँपालिका घोषण भएपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली नरैनापुर पुगेर बधाई दिएको छ ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहलाई उक्त टोलीले बधाई दिएको हो । आयोगका अध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको लागि नरैनापुरलाई ६६ लाख रुपैँया वित्तीय समानिकरण अनुदान सिफारिस गरेको बताए ।
नरैनापुरको स्थलगत निरिक्षण गरे पश्चात जनप्रतिनिधी र कर्मचारीसँग कुरा गर्दै आयोगका अध्यक्ष पौडेलेले नरैनापुरले गरेको कामको अन्य पालिकाले सिको गर्न जरुरी रहेको बताए । अध्यक्ष पौडेलले नरैनापुरको शिक्षा र स्वास्थ्यका लागि थप बजेट अवश्यक रहेको देखिएकोले सम्बन्धीत मन्त्रालयलाई बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य विपिन राज निरौलाले संघीय सञ्चित कोषबाट तल्लो तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा नरैनापुर गाउँपालिकाले पाएको ७८.५२ अंकको आधारमा देशकै गाउँपालिका मध्ये सबैभन्दा बढी बजेट पाएको बताउँदै नरैनापुरको विकासका लागि अझ राम्रो काम गर्न सुझाव दिदै उत्कृष्ट भएकोमा बधाई दिएका थिए ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आयोगका अध्यक्ष पौडेल, सदस्य निरौला र गाउँपालिका महासंघका समन्वय अधिकृत रविन पौडेललाई खादा मलालाले स्वागत गरेका थिए ।
अध्यक्ष शाहले नरैनापुर उत्कृष्ट भए पछि आयोगको टोली पालिकामा आएर बधाई दिनु आफूहरुका लागि खुशीको कुरा भएको बताउँदै नरैनापुरको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि थप बजेटको व्यवस्था गरी दिन माग गरेका थिए ।
आयोगको टोलीले नरैनापुरका अध्यक्ष शाह, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, लेखा अधिकृत भरत बस्नेत, वडा नम्बर ५ का सचिव भरत महतो, स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाह, कृषि शाखा प्रमुख सदन भण्डारी, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी, लेखापाल प्रकाश अधिकारी, सर्भिलेन्स अफिसर विवेक पौडेल, वडा सदस्यहरु संग छलफल गरेका थिए ।