नेपालगन्ज : बाँकेमा पछिल्लो समय देखापरेको सञ्चार क्षेत्रसँग सम्बन्धित विषय केन्द्रित रहेर सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले सोमबार नेपालगन्जमा उक्त अन्तरक्रिया आयोजना गरेको हो ।
कार्यक्रममा बक्ताहरुले मुलधारको पत्रकारिता जोगाउन सकिएन भने पत्रकारिताको मुल मर्म र धर्म नै बचाउन नसकिनेमा जोड दिए । उनीहरुले मिडियामैत्री सञ्चार नीति निर्माणसँगै कार्यान्वयन गर्नुपर्ने बताए ।
महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा सहभागी जिल्लाका विभिन्न सञ्चार माध्यमका सम्पादक, कार्यरत पत्रकार तथा पत्रकारका अगुवाले ब्यवसायीक पत्रकारितासंगै स्वस्थ प्रतिस्प्रर्धा अपिहार्य रहेको औल्याएका थिए ।
बाँकेका सञ्चारगृह चलायमान बनाउन स्थानीय तहमा मिडियामैत्री वातावरण निर्माण गर्दै सञ्चार नीति निर्माण गरिनु पर्ने बताए । यसका लागि पत्रकार महासंघले सहजिकरणको भूमिका खेल्न सुझाव दिँदै समाजको उत्तरदायित्व र जवाफदेहिताका लागि पत्रकार र सञ्चारगृह लाग्नुपर्नेमा जोड दिए ।
सो क्रममा अध्यक्ष भण्डारी, महासंघ पूर्वकेन्द्रिय सदस्य झलक गैरे, महासंघ बाँके पूर्वअध्यक्ष निरज गौतम, महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियन बाँकेका सचिव विजय मल्ल, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य, पत्रकार तुला अधिकारी, गोपिन्द्र बुढा, कमल खत्री, प्रदीप वाग्ले, गणेश बिसु, रामु ओली आ-आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रम महासंघ बाँकेका सचिव कमल डाँगीले सञ्चालन गरेका थिए ।