तनहुँ : आगामी बैशाख १० गते हुन लागेको तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुने पक्का भएको छ । उक्त निर्वाचनका लागि काँग्रेस परित्याग गरी हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका , अर्थविद् डा. स्वर्णिम वाग्ले, कांग्रेस नेता गोविन्द भट्टराई र पूर्वआइजिपी सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
स्थानीय बासिन्दाका अनुसार निर्वाचनमा कांग्रेस, रास्वपा र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भट्टराईका प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ रहेका छन् ।
भट्टराईलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका सत्तारुढ दलको समर्थन रहेको छ । त्यस्तै, नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना बसेका छन् ।
डा. स्वर्णिमको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रूपक घिमिरे बसेका छन् । स्वर्णिमका प्रस्तावक बाँस्तोला तनहुँ कांग्रेसका पूर्वजिल्ला सचिव हुन् । उनी उम्मेदवारी दर्ताको दिन सोमबार मात्र कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए ।
उम्मेदवारी दर्ताका बेला रास्वपाका अध्यक्ष तथा चितवनबाट उम्मेदवार बनेका रवि लामिछाने पनि तनहुँ पुगेका थिए । उनी चितवन २ मा उम्मेदवारी दर्ता गरेर हतार हतारमा वाग्लेको उम्मेदवारी दर्ताका लागि तनहुँ पुगेका हुन् ।
तनहुँ-१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको सांसद पदका लागि उपनिर्वाचन हुन लागेको हो ।