नेपालगन्ज : नेपाली कांग्रेस बाँकेले सल्लाहकार र आमन्त्रित सदस्यमा मनोनित गरेको छ । जिल्ला सभापति नारायणप्रसाद गौडेलले ११ जना सल्लाहकार र १० जना आमन्त्रित जिल्ला सदस्यलाई मनोनित गरेका हुन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) र नियमावली २०७६ को परिच्छेद १८ को विविध ५६ (२) मा व्यवस्था भए अनुसार आमन्त्रित सदस्य मनोनित गरिएको बताइएको छ ।
पार्टी प्रवक्ता डिल्ली गिरीका अनुसार पुर्वसभापतिहरु युवराज शर्मा, किरण कोइराला, गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ र सनतकुमार रेग्मी तथा पूर्वसांसदद्वय कैलाशनाथ गुप्ता र ज्ञानु केसी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी ‘भोला’ र तरुण दलका पूर्वमहासचिव हुर्मतकुमार न्यौपानेलाई सल्लाहकारमा नियुक्त गरिएको हो ।
यस्तै अधिवक्ताद्वय प्रह्लादबहादुर कार्की र चित्रबहादुर शाहीलाई कानुनी सल्लाहकारमा नियुक्त गरेका छन् । पार्टीको विधान अनुसार गौडेलले जिल्ला कार्यसमितिमा बैजनाथ-८ का पवनकुमार थारु, जानकी-२ का छत्रेश्वरप्रसाद शर्मा, नेपालगन्ज-२२ का आशिष बर्मा, कोहलपुर-१० की तारादेवी भुसाल्नी पाठक, बैजनाथ-८ का रामबहादुर विष्ट, कोहलपुर-२ का गोपाल प्रसाद देवकोटालाई आमन्त्रित सदस्यमा मनोनित गरेका छन् ।
यसैगरी खजुरा-२ का रामबहादुर महतरा, नेपालगन्ज-११ का अनिलकुमार श्रेष्ठ, खजुरा-४ का अर्जुनसिंह पाण्डे र नेपालगन्ज-५ का कादिर अन्सारीलाई पनि आमन्त्रित सदस्यमा मनोनित गरेका छन् ।