नेपालगन्ज : पञ्चपुरी नगरपालिका सुर्खेतका पूर्वमेयर उपेन्द्रबहादुर थापा र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रितिभक्त गिरीसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालले पञ्चपुरी नगरपालिकाका पुर्वमेयर र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए । 'लामो अनुन्धान पश्चात हामीले अदालतमा मुद्धा दायर गरेका हौं,' उनले दूरसञ्चार डटकमसँग टेलिफोनमा भने ।
उक्त नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले थापाविरुद्ध ५० लाख बिगो कायम गरी मुद्दा दायर गरेको छ । थापाले नमुना समाज सुर्खेतसँग सम्झौता बमोजिमको कार्यक्रम सञ्चालन गर्नको लागि नगरपालिकाको कुनै पनि बैठकबाट निर्णय नगराएको, नमुना समाजको कार्यक्रम सञ्चालन सम्बन्धी कुनै प्रस्ताव समेत माग नगरेको, संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन र नियमावली लगायतका प्रचलित कानुन समेतलाई बेवास्ता गरेको अख्तियारले जनाएको छ ।
यस्तै सम्झौता गर्नु पूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमता र विश्वसनीयता रहे÷नरहेको आधार बिना हचुवाको भरमा नै नमुना समाजले सम्झौता बमोजिम रकम खर्च गरी फिल्डमा काम सम्पादन गरेको थियो र थिएन सो समेतको अनुगमन, मूल्यांकन र कार्य सम्पन्न समेतको कार्यसम्पादन नगरी भुक्तानी दिन निर्देशन दिएको देखिएको छ ।
विज्ञप्तिमा नमुना समाजले सम्झौता विपरीत कार्य गरेको देखिँदा देखिँदै पनि दोस्रो किस्ताको रकमको भुक्तानी रोकी कानुन बमोजिम गर्नुपर्नेमा सो नगरी उल्टै कार्य सम्पन्न भएको भनी रकम भुक्तानीको लागि निर्देशन दिने निर्णय गरी भुक्तानी दिएको उल्लेख छ ।
यो विषयमा पूर्व मेयर थापाको मुख्य भूमिका बदनियत पूर्वक नगरपालिकाको सरकारी रकम हानि नोक्सानी गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा निजलाई बिगो ५० लाख रकम कायम गरिएको छ ।
यस्तै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रितिभक्त गिरीविरुद्ध ३० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । गिरीमाथी २०७४ सालमा पनि बाँकेको जानकी गाउँपालिकामा विभिन्न सामान खरिद गर्दा आर्थिक अनियमितता गरेको आरोप लागेको थियो । उक्त आरोपमाथी अख्तियारले त्यतिबेला पनि छानविन गरेको थियो ।
यस्तै पञ्चपुरीकै अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटा विरुद्ध २० लाख, लेखा अधिकृत मोहन बहादुर बुढा विरुद्ध ५० लाख र लेखापाल लक्ष्मीप्रसाद अधिकारीविरुद्ध २० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
नमुना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम र नमुना समाज सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी तथा नमुना समाज सुर्खेतको हकमा ५० लाख रुपैयाँ बिगो कायम गरी सजाय गर्न र बिगो रकम समेत जफत गर्न अख्तियारले माग दाबी गरेको छ ।