नेपालगन्ज : नेपालगन्जमा शनिबार निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविर गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखाको आयोजना र नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा शिविर गरिएको हो ।
उक्त शिविरमा ३ सय ५० भन्दा बढीले स्वास्थ्य परीक्षण गराए । शिविरको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले शिविरको ब्यानर पढेर उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा मेयर विष्टले निःशुल्क विशेषज्ञ आयुर्वेद ‘नागरिकलाई स्वास्थ्य राख्न हाम्रो परम्परागत उपचार पद्धति आयुर्वेदको महत्वपुर्ण भुमिका रहन्छ, यो कार्यक्रम निकै राम्रो छ, आज १० नम्बर वडाबाट यसको सुरुवात भएको छ, अब हामी सबै वडामा शिविरको आयोजना गर्नेछौं,’ उनले भने ।
शिविरलाई उपमहानगरको २३ वटै वडामा सञ्चालन गरिने विष्टले बताए । मेयर विष्टले नेपालगन्जमा अवैधानिक रुपमा आयुर्वेदको उपचार गर्ने भन्दैं भारतीय नक्कली डाक्टरले बिरामीलाई भ्रमित पार्ने काम गरेकोले त्यसलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले काम गर्ने बताए ।
संविधान सभा सदस्यएवम् नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष मैकुलालवाल्मिकीले आमनागरिकमा आयुर्वेदको बारेमा सकारात्मक सन्देश प्रवाह गर्न शिविरले महत्वपुर्ण भुमिका खेलेको बताए । नेपालगन्जमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतीको बारेमा सकारात्मक भावनाको विकास भएको भन्दैं भारतीय केही नक्कली डाक्टरका कारण बिरामीको स्वास्थ्यमा गम्भिर समस्या देखिदै गएको बताए । ‘भारतीय सिमा क्षेत्रका झोले डाक्टरका कारण थुप्रै बिरामीमा क्यान्सर जस्तो खतरनाक रोग देखिएको छ, जसको उपचार हाम्रा नेपाली विज्ञ डाक्टरहरुले गर्नुभएको छ, यसरी बिरामीको स्वास्थ्यमा खेलबाड भईरहेको छ, यसलाई रोक्नु हामी सबैको दायित्व हो,’ उनले भने ।
शनिबार भएको निःशुल्क विशेषज्ञ आयुर्वेद तथा उपचारात्मक योग शिविरको उद्घाटन कार्यक्रममा नेपाल आयुर्वेद चिकित्सा परिषदका रजिष्टार तथा पंचकर्म विज्ञ डा. निर्मल भुषाल, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रिजाल, नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. सन्तोष शर्मा, नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रभाकर मिश्र, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. अनिलकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख कविराज (निरिक्षक) बज्रभुषण झा लगायतको उपस्थिती रहेको थियो ।