नेपालगन्ज : स्थानीय परिकारलाई एकै ठाउँमा ल्याउन ‘स्ट्रीट फुड’ अर्थात ‘फुड लेन नेपालगन्ज’ बनाउने प्रक्रिया अगाडी बढाइएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको परिकल्पनामा नेपालगन्ज उपमहानगरपालिकाले उक्त प्रक्रियालाई अगाडी बढाएको हो ।
नेपालगन्ज उपमहानगरपालिकामा शनिबार विभिन्न सरोकारवालाबीच भएको छलफलमा स्थानीय त्रिभुवन चोक क्षेत्रलाई फुड लेन बनाउने निर्णय भएको छ । नेपालगन्जको त्रिभुवन चोक यहाँको पुरानो बजार हो । उक्त क्षेत्रमा नेपालगन्जको पहिचान झल्किने पानीपुरी, चाट, रावडी, बिरयानी, पान, दहीबडा जस्ता स्वादिष्ट परिकार खान पाइन्छ । तर, यि परिकारलाई बिक्री गर्ने ठाउँ र समयको उचित ब्यवस्थापन नहुँदा ब्राण्डिङ गर्न सकिएको छैन ।
नेपालगन्जको पहिचान झल्किने खाने कुरालाई एकै ठाउँमा ब्यवस्थित गर्नाले यिनको ब्राण्डिङ हुने र नेपालगन्जको आर्थिक अवस्था माथी उठ्ने विश्वास गरिएको छ । छलफलमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले तत्कालका लागि अहिले त्रिभुवन चोकको करिव डेढ सय मिटर वरिपरीको क्षेत्रलाई ‘फुड लेन’ बनाएर पछि बिस्तार गर्दै लैजाने बताए ।
‘त्रिभुवन चोक यहाँको पुरानो बजार हो, यहाँ अहिले पनि नेपालगन्जको पहिचान झल्किने खानेकुराहरु पाइन्छ, तर अब यहाँका पसललाई अलि ब्यवस्थित गर्ने, ब्यापारीलाई केही कुरा सिकाएर तत्कालका लागि राती १२ बजेसम्म खोल्न सकियो भने ब्राण्डिङ गर्न सकिन्थ्यो,’ उनले भने । यस विषयमा सम्बन्धित वडाका वडाअध्यक्षसँग आफुले छलफल पनि गर्ने मेयर विष्टले बताए ।
नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले ‘स्ट्रीट फुड’ ले नेपालगन्जको स्थानीय पहिचान झल्काउने बताए । स्ट्रीट फुड बनाउन निजी क्षेत्रले पहल गरेपनि उपमहानगरपालिकाले यसको अपनत्व लिनुपर्ने उनको भनाई छ ।
सो क्रममा पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापा, पत्रकार महासंघका पुर्वकेन्द्रिय सदस्य झलक गैरे,हस्पिटालिटी विज्ञ भरत विष्ट, अभियन्ता डा. बिनोद कर्ण र हेमन्तराज काफ्ले, सामाजिक अगुवा बिन्दु चर्तीमगर, निरन्जन राजभण्डारी, पर्यटनकर्मी रामजी पाठक लगायतले नेपालगन्जमा स्ट्रीट फुडको अपरिहार्यता रहेको भन्दै चाडो कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए ।