नेपालगन्ज : नेपालगन्जका स्थानीय परिकारको एकै ठाउँबाट ब्राण्डिङ गर्ने उद्देश्यले सुरु गर्न लागिएको ‘स्ट्रीट फुडलेनको महत्व र आवश्यकता बुझाइएको छ । केहीदिन अघि नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा बसेको सरोकारवालाबीच भएको छलफलमा स्थानीय त्रिभुवन चोक क्षेत्रमा फुडलेन बनाउने सहमती भएको थियो ।
त्रिभुवन चोक क्षेत्रमा छरिएर रहेका ब्यापारीलाई एकिकृत गरेर फुडलेनलाई ब्यवस्थित गर्नुअघि यसको महत्व र आवश्यकता बुझाउँदै मंगलबार थप छलफल गरिएको हो । नेपालगन्ज फुडलेन व्यवस्थापन समितिका संयोजक समेत रहेका परिकल्पनाकार श्रीराम सिग्देलले नेपालगन्जको आर्थिक अवस्था माथी उठाउन फुडलेन बनाउन आवश्यक रहेको बताए ।
भिडियो हेर्नुस् :
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टर अध्यक्ष समेत रहेका संयोजक सिग्देलले नेपालगन्जका स्थानीय स्वादहरु एकै ठाउँमा खान पाउँदा पर्यटकहरु आर्कषित हुने बताए । ‘जसले बिरयानी खान्छ, त्यसले चाट पनि खान्छ, एउटै ठाउँमा जे जे खाने कुरा पाइन्छ, त्यो खान्छ,’ सिग्देलले भने ‘बिक्रेताले त्यसलाई स्वस्थकर (हाइजिनिक) बनाएर बिक्री गर्न सकेको छैन, उसले ग्लोब्स लगाएको छैन, यि कुरालाई ब्यवस्थित गर्न सक्यौ भने नेपालगन्जको स्ट्रीट फुडले यहाँको आर्थिक अवस्थालाई माथी उठाउँछ ।’
अध्यक्ष सिग्देलको परिकल्पना सुनेर प्रभावित भएका त्रिभुवन चोकस्थित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रजनीश वाजपेयी र वडा नम्बर ११ का नन्दकिशोर कश्यपले फुडलेनलाई ब्यवस्थित गरेर दैनिक रुपमा सञ्चालन गर्नुको विकल्प नभएको बताए ।
स्थानीय जनप्रतिनिधिको हैसियतले आफुहरु यस अभियानमा सक्रिय पूर्वक लाग्ने र स्थानीय ब्यापारीलाई पनि बुझाउने प्रतिवद्धता जनाए । फुडलेन सञ्चालन गर्ने विषयमा बुधबार बेलुका पनि नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा स्थानीय ब्यापारी लगायतसँग बृहत छलफल गरिने भएको छ ।
नेपालगन्ज फुडलेन व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष नन्दलाल बैश्यले फुडलेन सञ्चालन गरेपछि स्वभाविक रुपले ब्यापार ब्यवसाय बढ्ने बताए । जनप्रतिनिधि, ब्यापारी, प्रहरी, प्रशासन, सञ्चारकर्मी लगायतबीच बृहत छलफल गर्नुपर्ने सुझाव दिए ।
यो पनि पढ्नुस् :
नेपालगन्जको त्रिभुवन चोक क्षेत्रमा ‘स्ट्रीट फुड लेन' बनाइने