नेपालगन्ज : वाईफाई नेपालले सबैभन्दा सस्तो र भरपर्दो इन्टरनेट सेवा नेपालगन्जमा सुरु गरेको छ । नेपालगन्जमा मंगलबार पत्रकार सम्मेलन गरेर उक्त कम्पनीले यसबारे जानकारी दिएको हो ।
कम्पनीले वाईफाई भाईको दिलदार अफर अन्तर्गत ५० एमबिपिएस क्षमताको इन्टरनेट मासिक ३ सय ३३ र ८० एमबिपिएस क्षमताको इन्टरनेट मासिक ५ सय रुपैयाँमा उपलब्ध गराइने जनाएको छ । कम्पनीले इन्टरनेट जडान गर्दा ग्राहकसँग राउटरको शुल्क भने १ हजार ५ सय रुपैयाँ लिने जनाएको छ ।
पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी अधिकृत सत्रुहन पञ्जियारले नेपालगन्ज लगायत आसपासको क्षेत्र तथा राप्तीपारीसम्म आफ्नो इन्टरनेट सेवा विस्तार गरिएको बताए । ‘यो हाम्रो रेगुलर अफर हो, नेपालगन्जपछि सुर्खेतमा र त्यसपछि महेन्द्रनगरमा पनि सेवा विस्तार गर्ने लक्ष्य छ,’ उनले भने ।
उक्त कम्पनी २०७८ बैशाख ५ गते विधिवत रुपमा स्थापना भएको थियो । त्यसपछि काठमाडौंबाट इन्टरनेट सेवा बिस्तार गरेको थियो । कार्यकारी अधिकृत पञ्जियारका अनुसार चालु आर्थिक वर्षमा पश्चिम नेपालका ६ वटा शहरमा इन्टरनेट सेवा बिस्तार गरिनेछ ।
आगामी आर्थिक वर्षमा मुलुकभरका ४० वटा शहरमा सेवा बिस्तार गर्ने उनले बताए । ‘नेपालकै उदयमान, सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले लुम्बिनी प्रदेशको नेपालगन्जमा सेवा बिस्तार गरिसकेको छ,’ पञ्जियारले भने ।
पत्रकारको जिज्ञासामा उनले राउटरको शुल्क अतिरिक्त तिरेपछि त्यसलाई ग्राहकले फिर्ता गर्न नपर्ने बताए । ‘अरु कम्पनीले राउटरको पैसा लिदैनन्, तर पछि सेवा बन्द गर्नुपर्दाखेरी राउटर लैजान्छन्, तर हामीले राउटरको पैसा एकैपटक लिईसकेपछि त्यो ग्राहकलाई नै दिन्छौं,’ उनले भने ।
कम्पनीका नेपालगन्ज शाखाका सेल्स प्रमुख सुप्रान्त श्रेष्ठले नेपालगन्जको मुख्य बजार बाहेक अन्य कम्पनी नपुगेको ठाउँमा पनि फाईबर लाईन बिस्तार गरेर सेवा पुर्याइएको जानकारी दिए । ‘नेपालगन्ज उपमहानगरपालिकाको लगभग सबै वडामा सेवा बिस्तार गरेका छौं, राप्तीपारीसम्म पनि हाम्रो सेवा पुगिसकेको छ,’ उनले भने ।
कम्पनीले नेपालगन्जको न्युरोडमा आफ्नो कार्यालय स्थापना गरेर सेवा दिन सुरु गरिसकेको छ । नेपालगन्जमा करिव २ दर्जन स्थानमा साधारण ग्राहकको घरमा इन्टरनेट जडान गरिसकेको र करिव एक महिनादेखी परिक्षण गर्दा एकदमै सफल देखिएको कम्पनीका प्राविधिकले बताएका छन् ।