चितवन : प्रतिनिधि सभाका रिक्त तीन सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनको मतगणना चलिरहेको छ । तनहुँ १, चितवन २ र बारा २ मा भएको उपनिर्वाचनको मतगणना चलेको हो । तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रतालाई कायम राखिरहेपनि बारा २ मा भने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता शिवचन्द्र कुशवाहा झिनो मतले अघिपछि भइरहेका छन् ।
यस्तै तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेले फराकिलो मतान्तरले अगाडि छन् । उनी प्रारम्भिक नतिजा आउन थालेदेखि नै अघि छन् । उनले साँझ सवा ५ बजेसम्म १९ हजार ४४९ मत ल्याएका छन् । उनलाई ११ हजार २७९ मत ल्याएर कांग्रेसका गोविन्द भट्टराईले पछ्याइरहेका छन् ।
वाग्ले र भट्टराई बीचको मतान्तर सात हजारभन्दा बढी छ । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार १५१ मत ल्याएका छन् । तनहुँ १ मा ६३ हजार ७ सय ५७ मत खसेको छ ।
यसैगरी चितवन २ रास्वपा सभापति रवि लामिछानेले अग्रता लिइरहेका छन् । प्रारम्भिक नतिजा आउँदा एमालेका रामप्रसाद न्यौपानेले अग्रता लिए पनि अहिले लामिछाने फरमकिलो मतान्तरले अगाडि बढिरहेका छन् । अहिलेसम्मको परिणामअनुसार रविले ३ हजार ६०२ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ८२ र तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले १ हजार ४९४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । चितवन २ मा १ लाख २४ हजार छ सय ९७ जना मतदाता रहेपनि ७८ हजार २ सय ७७ मत मात्रै खसेको छ ।
बारा २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाह अगाडि÷पछाडि भइरहेका छन् । प्रारम्भिक परिणाम सार्वजनिक हुँदा अघि रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई उछिनेर अगाडि लागेका शिवचन्द्र फेरि झिनो मतले पछि परेका छन् ।
यादवले ग्रता लिने क्रममा १ हजार ३९० मत पाएका छन् भने उनलाई पछ्याएका कुशवाहले १ हजार ३०१ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत पाएका छन्।