दाङ : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि मंगलबार साँझ आव्हान गरेका हुन् । संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठन गर्नका लागि उनले यही बैशाख १४ गतेसम्मको समय दिएका छन् ।
सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन असफल भएका थिए । नयाँ सरकारका लागि एमाले र सत्ता गठबन्धन दुबैले दाबी गरेका थिए । एमालेले ठूलो दलको आधारमा पुनः सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको थियो भने कांग्रेसले बहुमतको सरकारको दाबी गरेको थियो ।
त्यसपछि प्रदेश प्रमुख शेरचनले कानुनी परामर्शपछि बहुमतको सरकार गठनको आव्हान गरेका हुन् । परमर्शका आधारमा प्रदेश प्रमुख शेरचनले वैशाख १४ गते ४ बजेसम्म २ वा दुई भन्दा बढी दलको वहुमत जुटाएर सरकार बनाउन आह्वान गरेका छन् ।
यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन पेश गरिसकेका छन् । अब गिरी नै नयाँ मुख्यमन्त्री बन्ने छन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका १०, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४/४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक÷एक जना र स्वतन्त्र एक सांसद रहेका छन् ।