नेपालगन्ज : दाङ घोराहीका हरिलाल चौधरी अचेल नेपालगन्जका चोक, चौराहामा ब्यस्त छन् । पहाडी क्षेत्रको लोकप्रिय फल ‘काफल’ बिक्री गर्न उनलाई भ्याई नभ्याई भईरहेको छ ।
‘बैशाख १० गतेदेखी नियमित रुपमा काफल बेच्ने काम गरिरहेको छु,’ उनले भने ‘दैनिक दुई देखी तीन छिटुवा काफल नेपालगन्जमा बिक्री भईरहेको छ । पहाडमा पाईने भएकाले तराईका बासिन्दाले निकै महत्वका साथ काफल किन्ने गरेको चौधरीले बताए । पहाडी क्षेत्रमा विशेषगरी चैतदेखी बैशाखको अन्तिम सम्म काफल पाईन्छ ।
चौधरी काफल बिक्री गर्न नेपालगन्जको धम्बोझी चोक, पुष्पलाल चोक, विपी चोक, त्रिभुवन चोक, त्रिवेणीमोड लगायत स्थानमा दैनिक रुपमा बस्ने गरेका छन् । ‘जहाँ मानिसहरुको बढी आवत जावत हुन्छ, त्यहाँ गएर एकछिन बसेपछि बिक्री गर्न चिन्ता हुदैन,’ उनले थपे ।
ग्राहकहरुलाई उनले ५० रुपैयाँ, १ सय रुपैयाँ र डेढ सय रुपैयाँका दरले बिक्री गर्छन् । रोल्पा, सल्यानमा रहेका साथीहरुले त्यहाँ खरिद गरेर बसमार्फत नेपालगन्जसम्म पठाउने र आफु यहाँ बसेर बिक्री गर्ने गरेको चौधरीले सुनाए ।
पहाडमा पाइने काफल नेपालगन्जमा खान पाउँदा ग्राहकहरु पनि दंग छन् ।
‘काफल खान नपाएको धेरै वर्ष भएको थियो, पहाडतिर जान पाइएको थिएन, आफ्नै ठाउँमा खान पाइयो,’ शुक्रबार त्रिवेणीमोडमा काफल किन्दै गरेका एक सर्बसाधारणले भने ।