काठमाडौं : नेपाली काँग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी उपचार पश्चात स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार गराएका भण्डारी आईतबार साँझ स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेता, सहकर्मी सबैप्रति आभार र धन्यवाद व्यक्त गरे ।
विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी लागेको बताए । आफुले त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए । अस्पताल निर्माणमा सहयोग गर्न पनि उनले सबैलाई अपिल गरेका छन् ।
‘एउटा ठूलो दूर्घटनाबाट हामी आएका छौं, हुन त नेपालमा अहिलेसम्म यो वर्षमा ११० जना नेपाली दाजुभाई दिदी बहिनीहरुले आगजनीका कारण ज्यान गुमाउन परेको छ, मैले पनि मेरो आमा हरिकला भण्डारीलाई पनि दुर्घटनामा गुमाएको छु, मैले भर्खर मात्रै थाहा पाएको हुँ कि आमा हुनुहुन्न भनेर, नेपालमा धेरै आमाबुबाहरुले दुर्घटनाबाट ज्यान गुमाउनु भएको छ, धेरै युवा युवतीहरुले ज्यान गुमाउनु भएको छ, यी हाम्रा दुःखद् पक्ष हुन, साथीहरु हामीले जसरी प्रविधिको विकास भयो,’ उनले भने ।
‘गाउँगाउँमा विद्युत पुग्यो, गाउँगाउँमा ग्याँस पुग्यो, तर त्यो अनुसार हामीले पाठ्यक्रममा कसरी सिकाउने भनेर राख्दै राखेनौं, त्यसको शिकार म त भईसके पनि अरुलाई कस्तो भएको होला, यस्ता विषयमा जनरल नलेज हामीले दिनुपर्दो रहेछ, हामी ठूला कुरा गर्ने, साना कुरा गर्दै नगर्ने, मसिना कुरा हेर्दै नहेर्ने गर्नाले आज प्रत्येक ठाउँमा यस्तो दूर्घटना भइरहेको छ, मलाई त साथीहरु कसैले बाँच्छ नै भन्नु भएको थिएन, भेन्टिलेटरमा गएको मान्छे यो तीन वर्षमा जम्मा ३ जना बाँचेको रहेछ, म बाँचेर हजुरसँग आउन पाएँ ।’