नेपालगन्ज : पुर्वराजा ज्ञानेन्द्र शाहसहित परिवारका सदस्यले बागेश्वरी मन्दिरको महाआरतीमा सहभागिता जनाएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन नेपालगन्ज आईपुगेका ज्ञानेन्द्र सहित उनका परिवारले सोमबार बेलुका सन्ध्याकालिन साप्ताहिक महाआरतीमा सहभागिता जनाएका हुन् ।
महाआरतीमा पुर्वराजा ज्ञानेन्द्रसहित पुर्वरानी कोमल शाह, छोरी प्रेरणा र बुहारी हिमानी शाह लगायत सहभागी भएका थिए । प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा हरेक हप्ताको सोमबार महाआरती हुदै आएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको अग्रसरतामा बागेश्वरी मन्दिरमा महाआरती शुभारम्भ गरिएको हो । महाआरतीलाई स्थापित गराउन नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले अगुवाई गरेका हुन् ।
नाट्टा बाँकेले गतवर्षदेखी नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट सञ्चालनमा ल्याएको छ । वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करणका अवसरमा सिग्देलले करिव ३ सय जना नेपाल र भारतका पर्यटनकर्मीलाई बागेश्वरी मन्दिर परिसरमा उपस्थित गराएर महाआरतीको थालनी गरेका थिए । त्यसपछि पनि केही समयसम्म नाट्टाको अगुवाईमा गरिएको महाआरतीलाई पछिल्लो समयमा बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिले ब्यवस्थापन गर्दै आएको छ ।
महाआरतीमा पुर्वराज परिवारका सदस्यहरु उपस्थित हुने जानकारी पाएपछि सोमबार ठुलो संख्यामा हिन्दु धर्मावलम्बीहरुको मन्दिर परिसरमा उपस्थिती रहेको थियो । महाआरतीको शुभसाईत बेलुका ६ः३७ बजेको रहेपनि राजा ज्ञानेन्द्र पौने ६ बजे बागेश्वरी मन्दिर परिसर पुगेका थिए ।
नेपालगन्जको कारकाँदोस्थित होटल सोल्टीमा बसिरहेका पुर्वराजा ज्ञानेन्द्रसहित उनका परिवारका सदस्यहरु महाआरतीमा सहभागी हुन धम्बोझी चोकबाट सेतुबिक चोक, न्यूरोड हुदै बागेश्वरी मन्दिरको पूर्वी गेटबाट मन्दिर परिसरमा प्रवेश गरेका थिए ।
सो क्रममा प्रतिनिधि सभाका सांसद समेत रहेका राप्रपाका महामन्त्री डा. धवल शम्सेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगी लगायत भक्तजनहरुले स्वागत गर्दै नाराबाजी गरेका थिए ।