नेपालगन्ज : पुर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव राजसंस्था फर्काउनका लागि एक पटक सबै उठ्नुपर्ने बताएका छन् । ‘अब म भन्छु हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौं, हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं, यसको निम्ति के पुरुष, के महिला, के आजको जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबै जुट्नु पर्दछ,’ नेपालगन्जमा बुधबार आयोजित नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै पुर्वराजा शाहले भने ।
लामो अवधिसम्म पनि मुलुकको अवस्था नफेरिएको भन्दै उनले दुःख ब्यक्त गरे । शाहले थपे, ‘मलाई दुःख लाग्छ, यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितीमा छ, देशबासीको अवस्था सुधारौं, ब्यवस्था र पद्धति बसालौं, जनतालाई सुख शान्ति र समृद्धि दिऔं ।’
केही नीतिहरु मध्ये सर्वश्रेष्ठ नीति नै राजनीति भएको उल्लेख गर्दै पुर्वराजा शाहले राजनीति राष्ट्रमुखी, जनमुखी र जनहितकारी हुन नसकेको गुनासो गरे । ‘हाम्रा कतिपय नीति, पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो, तर विडम्बना भन्नुपर्छ, हामी राजनीति तथा हाम्रो राज्य ब्यवस्था नेताद्धारा नेताका निम्ती, दलद्धारा दलका निम्ति भइरहेको छ,’ उनले भने ।
बाँके, बर्दिया, दाङ जस्ता उर्वर भुभाग र सुर्खेत, कालिकोट, जुम्ला, हुम्ला, धनगढी र भैरहवा सम्मको पहुँच केन्द्र रहेको नेपालगन्ज ठुलो ब्यापारिक उत्पादक, वितरक र प्रेरक केन्द्र मानिएपनि जुन रफ्तारमा यसको चौतर्फी प्रभावकारिता हुनुपर्ने हो त्यो हुन नसकेको शाहले बताए ।
‘आपसमा मिलेर बस्ने नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर यस क्षेत्रको सर्वाङ्गिन विकासमा राज्यले खेल्नुपर्ने भुमिका गहन छ,’ उनले भने ‘विभिन्न धर्म, वर्ण र समुह मिलेर हातेमालो गर्दै नेपाली सभ्यताको परिचय थलो नेपालगन्जको आगामी अवधिमा धेरै प्रकारले फड्को मार्नुपर्ने खाँचो देखिन्छ, नेपालको बृहत्तर सम्पदाको उपयोग गरेर यो भेगका सबै अविकसित भु-भागको विकास गरेर त्यहाँको विपन्नतालाई हटाउन नेपालगन्जले अग्रणी स्थान राख्न सक्दछ । त्यस तर्फ कदम बढोस् भन्ने हाम्रो आकांक्षा हो ।’
नागरिक अभिनन्दन मुल समारोह समितिका संयोजक एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद डा. धवलसम्शेर राणाले डुब्न लागेको देशलाई राजालाई फर्काएपछि मात्र बचाउन सकिने बताए । ‘यो देशलाई गणतान्त्रिक ब्यवस्थाले सुहाएन, संघियता सुहाएन, हामीले निरंकुश राजतन्त्र ल्याउन खोजेको होईन, बेलायतको जस्तो राजसंस्था ल्याउन खोजिएको हो,’ राणाले भने ‘हामीले राजसंस्थालई राजनीतिमा ल्याउन खोजेको होईन, त्यो हेक्का रहोस्, जसले राजसंस्थाप्रति नकारात्मक कुरा गर्न खोजेका छन्, उनीहरुको अर्कमन्यता हो, आफ्नो असक्षमता लुकाउनको निम्ति अरुलाई दोष दिन खोजिरहेका छन् ।’
नेपाली जनताले राजालाई खोजेको कुरा नागरिक अभिनन्दनमा देखिएको विशाल उपस्थितीले पुष्टी गरिसकेको सांसद राणाले दाबी गरे । राजसंस्थासँगै खोसिएको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रलाई फर्काउने बल गरिरहेको उनले बताए । ‘विश्वको एक मात्र हिन्दु राष्ट्रलाई जनताले निकट भविष्यमा फर्काउने छन्,’ राप्रपा महामन्त्री डा. राणाले भने ।
नागरिक अभिनन्दन मुल समारोह समिति नेपालगन्जको अगुवाईमा स्थानीय रामलिला मैदानमा पुर्वराजा शाहको अभिनन्दन गरिएको थियो । सो क्रममा नेपालगन्जका डेढ दर्जन सामाजिक संस्थाको तर्फबाट पुर्वराजा शाहलाई अभिनन्दन पत्र प्रदान गरियो । नागरिक अभिनन्दन समारोहमा पुर्वराजा ज्ञानेन्द्रसहित पुर्वरानी कोमल शाह, बुहारी हिमानी शाह, छोरी प्रेरणा लगायत सहभागी भएका थिए ।
अभिनन्दनमा सहभागी गराउन मुल समारोह समितिले बाँकेका विभिन्न स्थानबाट सर्बसाधारणलाई नेपालगन्ज ल्याएको थियो । करिव एक महिने बसाईका लागि पुर्व राजा ज्ञानेन्द्रसहित पुर्वराज परिवारका सदस्यहरु नेपालगन्ज आएका हुन् । उनीहरु गत सोमबार बागेश्वरी मन्दिरको सन्ध्याकालिन महामारतीमा पनि सहभागी भएका थिए । पुर्वराजा ज्ञानेन्द्र सहित उनका परिवारका सदस्यले पश्चिम नेपालका विभिन्न ठाउँको भ्रमण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।