नेपालगन्ज : प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको हकलाई जोगाई राख्न पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्ने एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । मर्यादित पत्रकारिता भएपछि मात्र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई कसैले कुण्ठित गर्न नसक्ने उनीहरुको निस्कर्ष छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाँकेले बुधबार आयोजना गरेको 'प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको वर्तमान अवस्था' विषयक अन्तरक्रियामा बोल्ने बक्ताले मर्यादित पत्रकारिताले आफ्नो ट्रयाक छाड्दै जाने हो भने संबिधानमा ब्यवस्था भएको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरे ।
स्वतन्त्र पत्रकारितालाई लगाम लगाउन संघ, प्रदेश र स्थानीय सरकारले विभिन्न सञ्चार सम्बन्धी कानुन ल्याउन खोजेको उनीहरुको भनाई छ । नेपाली पत्रकारिताले विभिन्न ब्यवस्था परिवर्तनका आन्दोलनमा अगुवाई गरेको स्मरण गर्दै बक्ताहरुले लामो संघर्ष गरेर ल्याएको पूर्ण प्रेस स्वतन्त्रताको हकलाई जोगाई राख्नुपर्ने धारणा राखे ।
तत्कालिन शाही शासनका बेला बाँकेका पत्रकारले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता प्राप्तीका लागि देशमै पहिलो पटक आन्दोलनको अगुवाई गरेको कार्यक्रममा अग्रज पत्रकारहरुले स्मरण गरे । त्यतिबेला पुर्वराजाको कदम विरुद्ध भारतीय बजार रुपैहिडामा आन्दोलन गर्नुका साथै पत्रकारले सडकबाटै समाचार बाचन गरेका थिए । तत्कालिन समयमा पत्रकार महासंघ बाँकेले पापडको तर्फबाट गरिने आन्दोलनको नेतृत्व नै गरेको थियो ।
पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा महासंघका पूर्वकेन्द्रिय सदस्य तथा पुर्वजिल्ला अध्यक्ष झलक गैरेले तत्कालिन सशस्त्र द्धन्द्धकाल, तत्कालिन राजाको निरंकुश कदमदेखी हालसम्म प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको अवस्थाबारे अवगत गराएका थिए ।
सो क्रममा महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी, युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका गोविन्द शर्मा, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरे, पत्रकार शंकरप्रसाद खनाल, बीरेन्द्र जैसी, सुमन गिरी श्रेष्ठ लगायतले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको विषयमा आ आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले स्वागत मन्तब्य राखेका थिए, भने कार्यक्रम सञ्चालन सचिव कमल डाँगीले गरेका थिए ।