नेपालगन्ज : मजदुरी गर्नका लागि करिव ८ महिनाअघि भारतको चण्डिगढ गएका पुर्वी रुकुमका दलबहादुर बिक दशै, तिहार मनाउन यसपाली घर फर्किए । घरमा त्यसै बस्दा साँझ बिहानको छाक टार्न नसकिने, भारतमा जादाँ कोरोना महामारीको डर ।
मनभित्रको दुविधाका बीच श्रीमती र छोरा छोरीलाई घरमा छाडेर भारत गएका थिए, दलबहादुर । भारत नजादै उनलाई शंका थियो, यसपाली कोरोना महामारीले गर्दा राम्रो कमाई हुदैन । त्यहाँ गईसकेपछि उनले सोचे जस्तो कमाई गर्नै सकेनन् । कोरोना महामारीको त्रासका बीच दलबहादुरले जसोतसो ८ महिना भारतमा बिताए ।
बर्षौदेखी काम गर्न भारत जाने गरेका उनलाई यसपालीको ‘कालापहाड’ त्यति फापेन । ‘भारतमा यसपाली मैले सोचेजस्तो कमाई गर्न सकेन, घरमा त्यसै बस्नुभन्दा साथीभाईले आग्रह गरेपछि काम गर्न गएको हुँ, तर कोरोना महामारीका कारण राम्रो कमाई भएन,’ उनले भने ‘यसपाली कालापहाडा मलाई फापेन ।’
विगतका वर्षहरुमा काम गरेर भारतबाट फर्किदाखेरी छुट्टै उल्लास हुने गरेपनि यसपाली खासै उत्साह नभएको दलबहादुर सुनाउँछन् । छिमेकी मुलुक भारत नेपाली नागरिकका लागि काम गर्न जाने प्रमुख थलो हो । जहाँ नेपाली नागरिकहरु सदियौदेखी कामका लागि जाने गरेका छन् । गाउँमा प्रसस्त जग्गा जमिन नहुने, जग्गा जमिन भएपनि अधिया दिएर काम गर्न भारत जाने प्रचलन अहिले पनि नेपाली समाजमा कायमै छ ।
दशै, तिहार मनाएर काम गर्न भारत जाने र करिव एक वर्षसम्म कमाई गरेर पुनः दशै, तिहार मनाउन आउने नेपालीको पुरानै चलन हो । विशेषगरी पहाडी क्षेत्रबाट कालापहाड जाने प्रचलन छ । विगतका वर्षमा कमाई गरेर दशैमा घर फर्किदाँ नेपाली मजदुरले घर परिवारका लागि कालापहाडको कोशेली स्वरुप स्याउ लगायतका सामान ल्याउने गर्दथ्ये । तर, अहिले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस महामारीका कारण पस्थिती पुरै फेरिएको छ ।
अहिले भारतबाट फर्किने नेपालीहरु आफ्नै ज्यानलाई बाजी मारेर फर्किनु परेको छ । अहिले सामान त के आफ्नै ज्यानलाई जोगाएर फर्किनु परेको उनीहरु बताउँछन् । रोल्पाका तिर्थ दमाईको बुझाई पनि त्यस्तै छ । ‘पहिले–पहिले दशैमा काम गरेर घर फर्किदाँ कम्तिमा एक/दुई दाना स्याउ त पक्कैपनि ल्याईन्थ्यो, किनकी लाहुरबाट कमाई गरेर फर्केपछि घरका बालबच्चा र छरछिमेकले आशा गरेका हुन्थ्ये,’ उनी भन्छन्, ‘अहिले त न राम्रो कमाई गर्न सकियो, न त कुनै कोशली ल्याउन सकियो, फेरियो कालापहाडको जीन्दगी !’
हेर्नुस् भिडियो :