बाँके (नरैनापुर) : नरैनापुर गाउँपालिका क्षेत्रभित्रका केही बिद्यालयमा शिक्षक उपस्थित नभएरै तलब खाइरहेको तथ्य फेला परेको छ । गाउँपालिकाको शिक्षा समितिले आइतबार गरेको छड्के अनुगमनका क्रममा यस्तो पाइएको हो ।
बिद्यालय तथा मदरसामा आइतबार छडके चेकजाँच गर्ने क्रममा बिद्यालयमा उपस्थित नै नभएर शिक्षकहरुले तलब लिएको पाइएको थियो । गाउँपालिकाको शिक्षा अनुगमन तथा छानविन समितिका संयोजक एवम् वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्य सहितको टोलीले बिद्यालयको छडके अनुगमनका क्रममा विद्यालयमा शिक्षकको उपस्थिती नभएको, महिनौ दिनसम्म पनि बिद्यालयमा उपस्थित नभई तलब लिएको, शिक्षकले हप्तौ दिनसम्म हाजिरी नगरेको पाइएको हो ।
अनुगमनका क्रममा नरैनापुर गाउँपालिका वडा नम्बर ४ जयरामपूर्वामा रहेको मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती बैजाली र खाजा व्यवस्थापक रामजी साहु बैशाख महिनामा एक दिन पनि मदरसा नआएको पाइएको छ ।
यस्तै चैत महिनामा पनि शिक्षिका जयमती २ दिन र खाजा व्यवस्थापक रामजी १ दिन मात्रै मदरसा आएका थिए । उनीहरुले मदरसामा हाजिर नभएपनि तलब भने पाइरहेका छन् । उनीहरु दुबै जना राहत कोटाका शिक्षक रहेको बताइएको छ ।
मदरसाका प्रध्यानाध्यापक इब्राइम खानले उनीहरुलाई बारम्बार सम्पर्क गर्दा पनि मदरसा नआउने गरेको सुनाए । ‘उहाँहरुलाई हामीले धेरैपटक फोन गरेका छौं, गाउँपालिकामा पनि निवेदन दिएका छौं, तर पनि उहाँहरु मदरसामा आउनु हुँदैन,’ खानले भने, ‘तर तलब भने उहाँहरुले पाइरहनु भएको छ ।’
त्यस्तै वडा नम्बर ५ मा जमुनहामा रहेको मदरसा गौसुलवरा जामिया अहिले सुन्नतमा अनुगमनका क्रममा संयोजक मौर्य सहितको टोली पुग्दा प्रध्यानाध्यापक नै भेटिएनन् भने शिक्षकहरुको हाजिरी रजिष्टर माग्दा आफूहरुलाई थाहा नभएको शिक्षकहरुले बताए । तर, संयोजक मौर्यले दबाब दिएपछि मात्र शिक्षकहरुले हाजिरी रजिष्टर देखाए ।
उक्त हाजिरी रजिष्ट्ररमा कुनैपनि शिक्षकले बैशाख महिनामा हाजिरी गरेको पाइएन । त्यस्तै मदरसामा कति बिद्यार्थी अध्ययनरत छन् ? भनेर प्रश्न गर्दा कोही पनि शिक्षकले त्यसको उत्तर दिन सकेनन् । एकजना शिक्षकलाई किन हाजिरी नगर्नु भएको भनेर संयोजक मौर्यले प्रश्न गर्दा उनले नयाँ आर्थिक वर्षको हाजिरी रजिष्टर नै नबनाएको जवाफ फर्काएका थिए ।
यस्तै बेतिथी वडा नम्बर ४, जमुनहामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि पाइएको छ । अनुगमनका क्रममा उक्र विद्यालयमा पनि प्रध्यानाध्यपक भेटिएनन् । कुनै कक्षा कोठामा शिक्षक नै उपस्थित नभएको पाइएको छ ।
‘अचम्म त ३ जना शिक्षक/शिक्षिकाले त एकै पटक आएको र गएको हाजिरी लगाएको पनि पाइयो, केही कक्षामा बिद्यार्थीको पनि हाजिरी नगरेको पाइयो, धेरैजसो शिक्षकले हप्तौदिन देखि हाजिरी नै नगरेको पाइयो,’ संयोजक मौर्यले भने ।
उक्त विषयमा संयोजक मौर्यले प्रश्न गर्दा शिक्षक÷शिक्षिकाहरु नयाँ वर्ष भएको, कक्षा भर्खर सुरु भएको, कोही छुट्टीमा भएको जस्ता जवाफ दिएका थिए, भने केही शिक्षकले अनुगमन कै क्रममा बिद्यार्थी र स्वयं शिक्षक÷शिक्षिकाले हाजिरी गरे ।
अनुगमनका क्रममा सबै बिद्यालय तथा मदरसामा केही न केही कमजोरी देखिएको संयोजक मौर्यले बताए । ‘पहिलो पटक हामीहरु यसरी छडके अनुमगनमा गएका हौं, त्यसैले सबै बिद्यालय र मदरसालाई मौखिक चेतावनी दिएर आएका छौ,’ मौर्यले भने, ‘अर्कोपटक फेरि अनुमगनमा जानेछौं, यस्तै समस्या देखियो भने कानुनी प्रक्रिया अनुसार कारबाही गर्नेछौं ।’