नेपालगन्ज : राष्ट्रिय सभाका सदस्य युवराज शर्माले संसद बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले गरेको हर्कत संसदीय अभ्यासको अत्यन्तै अशोभनीय कार्य भएको टिप्पणी गरेका छन् । आफुलाई सभामुखले बोल्न नदिएको भन्दै सोमबारको प्रतिनिधि सभा बैठक चलिरहेका बेला सांसद सिंहले कपडा खोलेर 'अर्धनग्न' भएका थिए ।
नेपाल प्रेस युनियन बाँकेको कार्यालयमा सोमबार भएको साक्षात्कारमा नेपाली काँग्रेसका पुराना नेता समेत रहेका शर्माले भने, ‘आफुलाई हाईलाइट गर्ने नाममा संसदिय मर्यादालाई बिर्सेर लुगा फुकाल्नु भयो, सभामुखले रुलिङ गर्दा गर्दै पनि उहाँले अटेरी गर्नु भयो, संसदिय अभ्यासको अत्यन्तै अशोभनिय काम गर्नुभयो, त्यसलाई समर्थन गर्न सकिदैन ।’
नेपालको भन्दा अझ अशोभनिय हर्कत अन्य देशका संसदभित्र हुने गरेको भएपनि सांसद सिंहको हर्कत सुहाउँदो नभएको बताए । संसदको आफ्नै किसिमको मर्यादा हुने भन्दै यसमा सभामुखको पनि केही कमजोरी रहेको राष्ट्रिय सभाका सदस्य शर्माको भनाई छ । ‘सभामुखले पनि संसदमा तमासा देखाउनु भयो, उहाँले डिसिजन लिन सक्नु भएन, मर्यादा पालक लगाएर बाहिर निकाल्नुपथ्र्यो, तर सभामुखले बस्नुस्, बस्नुस् मात्रै भन्नुभयो,’ उनले भने ।
अर्को प्रसंगमा राष्ट्रिय सभाका सदस्य शर्माले देश आर्थिक संकटले गुज्रिरहेकाले कुनै नयाँ कार्यक्रम आउने संकेत नरहेको बताए । यस्तो अवस्थामा राजनीतिलाई कसरी ट्रयाकमा लैजाने भनेर सबैलाई ठुलो समस्या भइरहेको धारणा ब्यक्त गरे ।
मुलुकभित्र नयाँ पार्टीहरुको उदय भइरहेको र उनीहरुका आफ्नै किसिमका एजेण्डा रहेको शर्माले बताए । ‘राजनीतिक दलको बैचारिक र सैद्धान्तिक धरातल खस्किदै गइरहेको देखिन्छ,’ उनले थपे ‘लामो ईतिहास बोकेको, सैद्धान्तिक र बैचारिक धरातल लिएको पार्टीलाई नयाँ दलले पराजित गर्नु भनेको चिन्तनीय विषय हो, पुराना पार्टीले त्यसको समिक्षा गर्नुपर्यो, गल्ती र त्रुटीलाई सच्याउनुको विकल्प छैन, यो गम्भिर चिन्तनको विषय हो ।’
पछिल्लो समयमा पुर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताका विषयमा राष्ट्रिय सभाका सदस्य शर्माले फेरी राजा बन्ने सपना नदेख्न शाहलाई सुझाव दिए । ‘उनी अतितका राजा हुन्, भुतपुर्व भइसकेका छन्, ज्ञानेन्द्र शाह ह्याङ ओभर भएर बोलेजस्तो लाग्यो, भुतपुर्व राजा ज्ञानेन्द्रले बस्तु र परिस्थिती बुझिरहेका छैनन्,’ शर्माले भने ।
पुर्वराजा शाह नेपालगन्ज आएको बेला भारतको उत्तर प्रदेशमा जाने नाटक गरिरहेको बताए । ‘सत्ता गुमेपछि केही ब्यक्तिको उक्साहटमा पुर्वराजा सक्रिय भइरहेका छन्, अहिलेको परिस्थितीमा पुराना दलमाथी आक्रमण भइरहेको बेलामा मैले स्थान पाउँछु कि भनेर सक्रिय भएका हुन्,’ उनले भने ‘सामान्य नागरिकमा झरिसकेको ब्यक्ति भइसकेपछि फेरी राजा बन्न खोज्नु सपना मात्रै हो ।’
भुटानी शरनार्थी प्रकरणमा जो दोषी भएपनि कारबाही हुनुपर्ने राष्ट्रिय सभाका सदस्य शर्माको धारणा छ । साक्षात्कार नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।