बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकाले बुधबार प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौंर र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई स्वागत गरेको छ । गाउँपालिका कार्यालयमा अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, वडाअध्यक्षहरु, अन्य कर्मचारी लगायतले स्वागत गरेका हुन् ।
सो क्रममा दुबै जनाले नवनिर्मित गाउँपालिका भवनको निरीक्षण समेत गरेका थिए । निरीक्षणका क्रममा सांसद राठौर र मुख्यमन्त्री चौधरीले बैजनाथ गाउँपालिकासहित बाँकेको क्षेत्र नम्बर ३ को समग्र विकासका लागि आवश्यक पहल तथा सहकार्य गरिने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
गाउँपालिका अध्यक्ष शाहीले बैजनाथमा स्थानीय सरकारको तर्फबाट भइरहेको विकास निर्माण लगायत बारे अवगत गराएका थिए । प्रतिनिधि सभाका सांसद राठौर र मुख्यमन्त्री चौधरीसँगको छलफल सकारात्मक भएको र आशाको दियो बलेको उनले प्रतिक्रिया दिए ।
‘बैजनाथको सम्रग विकासका बारेमा प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौर र मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ज्युसँग छलफल भयो, छलफल सकारात्मक भयो, आशाको दियो बलेको छ,’ अध्यक्ष शाहीले भने ।
यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानी स्थित च्यामा गाउँलाई थारुग्रामको रुपमा स्थापना गर्ने सांसद राठौर र मुख्यमन्त्री चौधरीले बुधबार नै स्थलगत अनुगमन गरे । च्यामाको थारुगाउँलाई ‘थारु ग्राम’ को रुपमा स्थापना गर्न उदेश्यले पर्यटन विभागबाट संरचनागत कार्य थालनी भइसकेको अध्यक्ष शाहीले जानकारी दिएका छन् ।
सो क्रममा लुम्बिनी प्रदेशका सांसद एवम् नेपाली काँग्रेस बाँकेका सचिव सञ्जुकुमारी चौधरी, नेपाली काँग्रेसका नेता, कार्यकर्ता, होमस्टे ब्यवसायी लगायतको पनि उपस्थिती रहेको थियो ।