काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाणलाई नेपाली कांग्रेसले तत्काल निलम्बन नगर्ने भएको छ ।सभापति शेरबहादुर देउवा निवासमा बिहीबार बसेको पदाधिकारी बैठकले अभियोग पुष्टी भइनसकेकाले तत्कालै निलम्बन गर्नु नपर्ने निष्कर्ष निकालेको हो ।
दुई दिन बसेको बैठकमा गम्भीर अभियोग लागेकोले खाणलाई पार्टीबाट निलम्बन गरिनुपर्ने आवाज पनि उठेको थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले गर्ने निर्णयलाई आधार मानेर आगामी दिनमा आवश्यक निर्णय गर्ने भन्दै अहिले नै खाणलाई कारवाही गर्ने कुनै निर्णय नभएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
अनुसन्धानको दायरामा जो सुकैपनि आउन सक्ने भन्दै यस प्रकरणले सत्ता गठबन्धनलाई कुनै असर नपर्ने बताए । ‘कुनै मुद्दामा व्यक्तिलाई पक्राउ गर्ने बित्तिकै ऊ दोषी हो भन्न मिल्दैन, त्यसलाई अभियुक्तका रूपमा लिइन्छ, अदालतबाट फैसला भइसकेपछि मात्रै दोषी ठहर हुने हो,’ सहमहामन्त्री परियारले भने ।
बैठकमा कोशी प्रदेशमा केन्द्रमा रहेको सत्तारुढ गठबन्धन अनुसारको सरकार नभएको बारे गम्भीर छलफल भएको जानकारी दिए । यस विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई छलफलको जिम्मा दिइएको छ ।
त्यस्तै राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकका विषयमा पनि छलफल भएको परियारले बताए । यस विषयमा कानुनविद्सँग राय लिने कांग्रेसको भनाइ छ । उक्त बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ तथा विभागलाई पूर्णता लगायत विषयमा पनि छलफल भएको थियो ।