नेपालगन्ज : संबिधानले ब्यवस्था गरे अनुसार अझैपनि नेपाली नागरिकले नागरिकता प्रमाणपत्र पाउन नसकेको सम्बद्धहरुले जोड दिएका छन् । महिला कानुन र विकास मञ्च(एफडब्लुएलडी)ले नेपालगन्जमा मंगलबार नागरिकताको अधिकार तथा नागरिकता सम्बन्धि मुद्दामा फैसला कार्यान्वयनको अवस्था सम्बन्धमा सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा सम्बद्धहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसियशनका पुर्वकेन्द्रिय उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले नागरिकता नपाउँदा धेरै जना बञ्चित भइरहेको बताए । ‘संबिधानमा भएको ब्यवस्था अनुसार नागरिकता प्रमाणपत्र नपाउँदा कसैले बैंक खाता खोल्न पाएका छैनन्, कसैले रोजगारी पाएका छैनन्, धेरै जना राज्यले दिने सेवा सुविधाबाट बञ्चित छन्,’ उनले भने । नागरिकताको सवालमा कानुन ब्यवसायी मात्र नभएर सञ्चारकर्मीले पनि कलम चलाउनुपर्ने वरिष्ठ अधिवक्ता श्रेष्ठको जोड छ ।
यस्तै अधिवक्ता विश्वजित तिवारीले नागरिकताको विषयमा नेपालगन्जमा थुप्रै मुद्दा दर्ता भएको र अदालतले गरेको आदेशलाई समेत कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले आनाकानी गरेको बताए । जिल्ला प्रशासनलाई अदालतको आदेश कार्यान्वयन गर्न दवाव स्वरुप पुनः मुद्दा हाल्नु परेको घटना स्मरण गरे ।
विगतमा आमाको नामबाट नागरिकता प्राप्तीका लागि बाँकेमा वर्षा शर्मा, दिपिका सोनी जस्ता कयौंले मुद्दा लड्नु परेको स्मरण गराउँदै अझैपनि अदालतले गरेको आदेश अनुसार कतिपयलाई नागरिकता प्राप्त गर्न कठिन रहेको अधिवक्ता तिवारीले सुनाए ।
महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक एवम् अधिवक्ता सविन श्रेष्ठले नागरिकताको अधिकार तथा नागरिकता सम्बन्धि मुद्दामा संस्थाले पीडितको वकालत गर्दै आएको बताए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष मनोजकुमार श्रेष्ठले नागरिकता सम्बन्धि सिफारिस गर्न नेपालगन्जका थुप्रै वडाअध्यक्षहरु हिचकिचाउने गरेको बताए । ‘नागरिकता दिने काम वडाको होइन, तर नागरिकता प्राप्तिका लागि सिफारिस दिन सकिन्छ, सिफारिस दिदाँखेरी कतिपय वडा हिचकिचाउनुपर्ने अवस्था छ,’ उनले भने ।
यस्तै नागरिक दैनिकका संवाददाता अर्जुन ओलीले नागरिकताका सवालमा नेपालगन्जका सञ्चारकर्मीले विगत लामो समयदेखी कलम चलाउँदै आएको बताए । ‘संबिधानले दिएको ब्यवस्था अनुसार नागरिकता नपााएका पीडितका पक्षमा नेपालगन्जका सञ्चारकर्मीले कलम चलाएका छन्, म स्वयंले आफ्नो मिडियामा धेरै पीडितका पक्षमा कमल चलाएको स्मरण गराउन चाहन्छु, चाहे खजुराकी बर्षा शर्मा हुन्, या त नेपालगन्जकी दिपिका सोनी किन नहुन्, उनीहरु जस्ता थुप्रै पीडितको पक्षमा कलम चलाएको स्थिती हो,’ ओलीले भने ।
कानुन ब्यवसायीको कानुनी लडाई र पत्रकारको समाचार लेखनले पीडितले न्याय पाउन सफल भएको पत्रकार ओलीले सुनाए । उक्त कार्यक्रममा सो क्रममा अधिवक्ता बसन्त गौतम लगायत नेपालगन्जमा क्रियाशिल करिव डेढ दर्जन पत्रकार सहभागी भएका थिए ।