नेपालगन्ज : जनताको समान रुपले सेवा गर्नका लागि नै स्थानीय तहमा पाँच वर्षका लागि जनप्रतिनिधीलाई जनताले जिताएका हुन् । तर, कतिपय जनप्रतिनिधीले काम गर्ने क्रममा फरक पार्टीमा आस्था राखेकै कारण विभेद गर्ने गरेका घटना बाहिर आएका छन् ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले फरक पार्टीमा आस्था राखेकै कारण सिफारिस नदिएको गम्भिर आरोप लागेको छ । जानकी गाउँपालिका वडा नम्बर २ बेलभारस्थित शिवशक्ती कृषक समुहका अध्यक्ष पवनकुमार विश्वकर्माले वडाअध्यक्षबाट सिफारिस नपाएको आरोप लगाएका हुन् ।
‘कृषक समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनामा सुचिकृत गर्नको लागि मैले उहाँ(वडाध्यक्ष) सँग सिफारिस लिन गए, उहाँले त विपक्षी होस्, मलाई भोट पनि दिएनस् भन्दै सिफारिस दिन मान्नु भएन,’ उनले भने । आफुले वडाअध्यक्ष भन्दा फरक पार्टीमा आस्था राखेकै कारण सिफारिस नपाएको विश्वकर्माको ठहर छ ।
कृषक समुहको अध्यक्ष पद छाडेर अर्को ब्यक्तिलाई जिम्मा दिएपछि मात्र आफुले सिफारिस दिने वडाअध्यक्ष गुप्ताले बताएको विश्वकर्माले सुनाए । वडा कार्यालयले सिफारिस नदिएको विरुद्ध आफु जिल्ला प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालत लगायत निकायमा जाने उनले बताएका छन् ।
स्थानीय सरकार कार्यसञ्चालन ऐन, २०७४ ले सबैभन्दा तल्लो तहमा रहेको वडापालिकालाई धेरै अधिकार दिएको छ । वडाअध्यक्षले वडा तहमा बसेर जनतालाई आवश्यक पर्ने सिफारिस गर्नुपर्छ । ऐन अनुसार त्यस्तो सिफारिस गर्दा वडाअध्यक्षले कसैलाई पनि भेदभाव गर्न पाईदैन । तर, वडाअध्यक्ष गुप्ताले फरक पार्टीमा आस्था राखेकै कारण सिफारिस नदिएको गम्भिर आरोप लागेको छ ।
जानकी गाउँपालिका वडा नम्बर २ की स्थानीय हेमलता थापाले पनि वडाअध्यक्ष गुप्ताले आफ्नो मान्छेलाई मात्र सिफारिस दिने गरेको गुनासो गरिन् । ‘अरुलाई सिफारिस नदिने, आफ्नो पार्टीकालाई मात्र सहयोग गर्ने गर्नु हुन्छ, सिफारिस माग्दा उहाँ तपाईले मलाई भोट दिएको हो र भनेर भन्नुहुन्छ,’ उनले भनिन् ।
वडाअध्यक्ष गुप्ताले आफुहरुको समुहको सिफारिस रोकेर उनका सहोदर भाई सन्तराम गुप्ताले नेतृत्व गरेको सहकारीलाई भने सुचीकृतका लागि सिफारिस दिइसकेको विश्वकर्माको भनाई छ । यस विषयमा प्रतिक्रिया लिदाँ वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको भनाई फरक आएको छ ।
उनले आफुकहाँ सिफारिस लिनै नआएको जिकिर गरे । ‘म कहाँ वडा कार्यालयमा अहिलेसम्म सिफारिस लिन आएकै छैन, बरु हिजो अर्को मान्छेलाई मेरो घरमा पठाएको थियो, मैले सम्बन्धित मान्छेलाई नै वडा कार्यालयमा पठाईदिनु होला भनेको थिएँ,’ उनले भने । वडा कार्यालयले कसैलाई पनि सिफारिसबाट नरोकेको वडाअध्यक्ष गुप्ताको दाबी छ । गुप्ता माओबादी केन्द्रबाट २०७४ को स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
भिडियो हेर्नुस् :