नेपालगन्ज : नेपालगन्ज रंगशालामा एक लाख बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता शुरु भएको छ । रोयल नेपालगन्ज फुटबल क्लवले यहाँका १४ वटा टीमलाई सहभागी गराएर फुटबल प्रतियोगिता शुरु गरेको हो ।
पछिल्लो दुई वर्षपछि पहिलो पटक रंगशालामा क्लव स्तरीय फुटबल प्रतियोगिता भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रोयल नेपालगन्ज फुटबल क्लव विजयी भएको छ । रोयलले हसनापुरको सनलाइट युथ क्लवलाई ७–१ गोलले पराजित गरेको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका सांसद एवं ओलम्पियन सुरेन्द्र हमालले रेफ्री अमर घलेलाई बल हस्तान्तरण गरेर गरेका थिए ।
उद्घाटन समारोहमा बाँकेका प्रहरी प्रमुखहरु श्यामकृष्ण अधिकारी, अशोक बम, नरेन्द्र गिरी, नेपाली सेनाका मेजरद्वय कपुर सिंह र दिप श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द, एन्फाका पूर्वउपाध्यक्ष गोवद्र्धन सिंह सम्झना, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्ण श्रेष्ठ, ब्याडमिन्टन संघका सञ्जय थापा, एन्फा बाँकेका कोषाध्यक्ष वीरेन्द्र श्रेष्ठ, क्लवका सल्लाहकार किसन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
यही असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई एक लाख एघार हजार एक सय एघार रुपैया र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ । शनिबार(भोली) दिउँसो दुई बजे धम्बोझी क्लव र मोडल तथा चार बजे रेसिङ साहरा र न्यू भगवतीका बीचमा खेल हुनेछ ।