काठमाडौं : नक्कली भुटानी शराणार्थी प्रकरणमा पक्राउ परेका केशव दुलालले तत्कालिन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, तत्कालिन गृहमन्त्री रामबहादुर थापा र तत्कालिन गृहसचिव प्रेमकुमार राईलाई नगद बुझाएको बताएका छन् ।
प्रहरीसँगको बयानका क्रममा दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्यलाई बालुवाटारमै १ करोड, मन्त्री क्वाटर पुल्चोकमा रामबहादुर थापालाई राष्ट्रिय सभाको चुनाव अगाडि ३ करोड र गृह मन्त्रालयको सचिवको कार्यकक्षमा तत्कालिन गृहमसचिव राईलाई २०७६ साल असार महिना ३ करोड नगदै बुझाएको बताएका छन् ।
‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसी मार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको,’ उनले बयानका क्रममा भनेका छन् ।
‘तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी निजका छोरा प्रतीक थापामार्फत मन्त्री क्वाटर पुल्चोकमा बोलाई निज रामबहादुर थापा बादल राष्ट्रिय सभाको चुनाव हुनुभन्दा अगाडि ३ करोड नगदै बुझी लिएको,’ उनले बयानका क्रममा बनेका छन, ‘प्रतीक थापाले नक्साल निलगिरी थकाली भान्साघरको आँगनको उत्तरतर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा १ करोड रकम बुझी लिएको ।’
यस्तै, दुलालले तत्कालिन गृहसचिव प्रेमकुमार राईले डा. इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्यकक्षमा बोलाई मिति २०७६ साल असार महिनामा ३ करोड नगदै बुझी लिएको बयान दिएका छन् । यस्तै, उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीका पूर्वसल्लाहकार डा. अजय क्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई मन्त्री क्वाटरमा १–१ करोड रुपैयाँ दिएको पनि बयान दिएका छन् ।