काठमाडौं : टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिने सरकारले तयारी गरेको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले दिने आममाफीमा यसपटक चौधरीलाई पनि समेट्ने प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको हो ।
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिएका छन् । राष्ट्रपति पौडेलले गृहको यो सिफारिसमा कानुनविद्हरूसँग सल्लाह गर्ने तयारी गरेका छन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाले यो विषयमा राष्ट्रपतिले महान्यायाधीवक्ता सहित कानुनविदहरुसँग परामर्श गरिने बताएका छन् ।
राष्ट्रपति कार्यालयबाट यो प्रस्ताव फेरि गृह मन्त्रालयमा आउनेछ । गृहले आममाफी दिनेहरूको सूची मन्त्रिपरिषद्मा पठाउने छ । मन्त्रिपरिषद्ले पारित गरेको सूचीअनुसार राष्ट्रपतिले आममाफी दिने छन् । टीकापुरमा २०७२ भदौ ७ गते भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि ८ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो ।
उक्त घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगीको मृत्यु भएको थियो ।
सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले जन्मकैदको सजाय सुनाएकोमा गत जेठ २ गते सर्वोच्च अदालतले पनि उच्च अदालतको फैसलालाई सदर गरिदिएको थियो ।
चौधरी भुमिगत रहेकै अवस्थामा २०७४ सालको निर्वाचनमा कैलालीबाट प्रतिनिधि सभाको सांसदमा निर्वाचित भएका थिए । उनी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले गत मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभातर्फ ४ सिट जितेको छ । चौधरीकी श्रीमती समेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् ।