नेपालगन्ज : अस्पतालमा बिरामीको चाप बढेसँगै नेपालगन्जमा रगतको 'हाहाकार' मच्चिएको छ । बिरामीलाई दैनिक रुपमा अनपेक्षित रुपमा रगत आवश्यक पर्न थालेपछि नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जलाई रगत पुर्याउन हम्मे हम्मे परेको हो ।
क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले पछिल्लो समयमा रगतको अभाव सिर्जना हुने गरेको बताए । ‘पछिल्लो समयमा नेपालगन्जका अस्पतालहरुमा बिरामीको चाप बढेको देखिन्छ, जसले गर्दा अस्पतालका बिरामीलाई दैनिक रुपमा चाहिने रगत उपलब्ध गराउन हामीलाई निकै कठिनाई भइरहेको छ,’ रेग्मीले भने ।
नेपालगन्जमा अचेल रक्तदान सम्बन्धि कार्यक्रम कम मात्रामा हुने गरेकाले पनि अभाव सिर्जना भएको उनको भनाई छ । बिरामीलाई चाहिएको रगत जसोतसो गरेर उपलब्ध गराउने काम भइरहेको रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीले सुनाए । ‘कुनै सामाजिक संघ संस्था वा संगठनहरुले यो अप्ठ्यारो बेलामा रक्तदान कार्यक्रम राखिदिए धेरै राहत मिल्थ्यो,’ उनले थपे ।
यसैबीच रगतको हाहाकार मच्चिएपछि नेपाल प्रेस युनियन बाँकेले शनिबार बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । आफ्नो ३२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष अर्जुन ओलीले जानकारी दिए ।
रेडक्रसको रक्तसञ्चार केन्द्र नेपालगन्जमा बिहान ११ बजेदेखी रक्तदान कार्यक्रम सुरु गरिने उनले बताए । रक्तदान जस्तो मानवीय कार्यमा सहभागिता जनाएर रगत दान गर्न विभिन्न माध्यममार्फत सबैलाई आब्हान गरिएको कार्यक्रम संयोजक समेत रहेका युनियनका उपाध्यक्ष समिरमान श्रेष्ठले बताए ।
युनियन बाँकेका सचिव विजय मल्लले रक्तदानमा सहभागिता जनाउन पत्रकार लगायत सबै क्षेत्रका रक्तदातालाई सार्बजनिक रुपमा आब्हान गरिएको जानकारी दिए ।