कोहलपुर : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले पार्टीमा शुद्धिकरण आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेको प्रथम क्षेत्रीय सम्मेलनको कोहलपुरमा उद्घाटन गर्दै उनले तलदेखि माथिसम्म शुद्धिकरण गरेर जानुपर्ने आवश्यकता रहेको बताए ।
‘पार्टी अब नयाँ ढंगले चल्नुपर्छ, परम्परागत हिसाबले हुँदैन, जनआकांक्षालाई बुझेर अघि नबढे दुर्घटना हुन्छ,’ रिजालले भने । नेतृत्वले सबै पक्षलाई मिलाएर लैजानुपर्ने उनको भनाई छ । पार्टीका प्रभावशाली नेता समेत रहेका रिजालले सबैको भावनाको कदर गर्नुपर्ने बताए ।
यस्तै पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीभित्र एकले अर्कोलाई दोष लगाएर उँभो नलाग्ने बताए । सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड छ । क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा सम्मेलन सम्पन्न भएको थियो ।
सम्मेलनलाई पार्टीका लुम्बिनी प्रदेश सह-महामन्त्री निमा गिरी, बाँके सभापति नारायणप्रसाद गौडेल, महासमिति सदस्य तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, राप्ती सानारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल लगायतले सम्बोधन गरेको क्षेत्रीय प्रवक्ता तुलाराम खत्रीले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा प्रजातन्त्र सेनानी, सहिद परिवार, जनआन्दोलनका घाइते, जग्गादाता, पूर्व क्षेत्रीय सभापतिहरु र उत्कृष्ट वडा सभापति लगायतलाई सम्मान गरिएको थियो ।