नेपालगन्ज : उच्च अदालत बार एशोसियशन नेपालगन्जको अध्यक्षमा अधिवक्ता चित्रबहादुर शाही निर्वाचित भएका छन् । बारको नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार मतदान भएको थियो ।
निर्वाचन परिणाम अनुसार शाहीसहित उनी नेतृत्वको पुरै प्यानल निर्वाचित भएको छ । बार एशोसियशनमा आगामी दुई वर्षे कार्यकालका लागि उनीहरु निर्वाचित भएका हुन् । निर्वाचनमा ‘बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुह’ को तर्फबाट उम्मेदवार रहेका शाही १ सय ४५ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी ‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुह का उम्मेदवार अधिवक्ता चित्रबहादुर केसीले २८ मत प्राप्त गरे । यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार भुवन कृष्ण श्रेष्ठले ४ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत गणेशकुमार रेग्मीले जानकारी दिए ।
‘बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुह’ बाटै उपाध्यक्षमा तिर्थराज ज्ञवाली, सचिवमा गणेशप्रसाद शर्मा तथा सदस्यहरुमा सतिशचन्द्र थारु, हिराबहादुर श्रेष्ठ, पूर्णप्रसाद ढकाल, रिजवान अहमद मिर्जा, हरिशचन्द्र सिजापति, बीरेन्द्रकुमार बस्नेत, जयराम जैसी र जयराम थारु निर्वाचित भएको रेग्मीले बताए ।
उक्त समुहबाट कोषाध्यक्ष पदको उम्मेदवार रहेका हरि सुवेदी र शान्ता पोखरेल सदस्य (महिला) भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । केसीको समुहबाट उपाध्यक्ष पदमा अधिवक्ता ओमप्रसाद मानन्धर, सचिवमा कुम्भराज मिश्र र सदस्यमा रामसुन्दर बाहुन प्रतिस्पर्धामा थिए ।
बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुहमा नेपाली काँग्रेस निकट डिएलए, एमाले निकट ‘पिपिएलए’ माओवादी केन्द्र सम्वद्ध ‘आरपिएलए’ लगायत संगठनहरु आवद्ध थिए । ‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत अन्य पार्टी निकट एवम स्वतन्त्र कानुन ब्यवसायी आवद्ध रहेका थिए ।
सम्बन्धित समाचार पढ्नुस् :
बार निर्वाचनमा १ सय ८४ मत खस्यो, मतगणना कार्य सुरु
बार एशोसियशन हाँक्न दुई ‘चित्रबहादुर’ बीच प्रतिस्पर्धा
उच्च अदालत बार एशोसियशनको नयाँ नेतृत्व चयन गर्न मतदान सुरु
‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी समुह’ मैदानमा
‘बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुह’ को तयारी पुरा