नेपालगन्ज : गर्मी बिदा नगर्ने संस्थागत बिद्यालयमा नेपालगन्ज उपमहानगरपालिकाले आइतबार नगर प्रहरी परिचालन गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र संस्थागत बिद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुने गरी आइतबारदेखी २३ गते मंगलबारसम्म बन्द गरिएको सूचना जारी गरेको थियो ।
उक्त सूचना विपरित पठन पाठन सञ्चालन गरेको भन्दै आर्दश माध्यामिक बिद्यालय नेपालगन्ज, जयबागेश्वरी बोर्डिङ स्कुल लगायतका बिद्यालयहरुमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाको सूचना विपरित पढाई सञ्चालन भएपछि उपमहानगरपालिकाले ति बिद्यालयहरुमा नगर प्रहरी पठाएको थियो । नगर प्रहरी प्रमुखको नेतृत्वमा नगर प्रहरीहरु बन्द गराउन बिभिन्न बिद्यालयमा आइतबार बिहान ११ बजेतिर पुगेका थिए । आर्दशले गर्मीयाममा बिद्यार्थीका लागि कक्षा कोठामा ‘एसी’ चलाउनुपर्ने भन्दै मासिक रुपमा २ सय रुपैयाँ बिद्युतको अलग शुल्क लिने गरेको छ ।
बिद्यालय बन्द गराउन पुगेका नगर प्रहरीलाई बिद्यालय प्रशासनले गर्मीमा पठन पाठनमा सहज गराउनका लागि प्रत्येक कक्षा कोठामा एसी जडान गरिएको र गर्मीले बिद्यार्थीलाई खासै असर नगर्ने जवाफ दिएको थियो ।
नगर प्रहरी पुगेपछि ति बिद्यालयले सोमबारबाट लागु हुने गरी गर्मी बिदा गरेका छन् । आर्दश माध्यामिक बिद्यालयले अभिभावकलाई पठाएको नोटिसमा अत्यधिक गर्मी भई पठन पाठनमा कठिनाई भएकाले बिद्यालयको आगामी समयमा हुने वर्षे बिदा कट्टी हुने गरी जेठ २२ गते सोमबारदेखी २३ गते मंगलबारसम्म बिद्यालय बन्द रहने उल्लेख छ ।
सम्बन्धित समाचार पढ्नुस् :
गर्मी बढेपछि नेपालगन्ज र खजुराका बिद्यालय बन्द