कपिलबस्तु : लुम्बिनीमा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक भित्रिएका छन् ।
सन् २०२२ को 'जनवरी' देखि 'मे' महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षको भन्दा यस वर्षको संख्या एक लाख आठ हजार चार सय ८६ ले बढी रहेको छ ।
सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार चारसय १३ जना राहदानी लिएका, तीन लाख २४ हजार दुई सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१ भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्यांक रहेको छ ।
गत वर्ष दुई हजार छ सय ८७ राहदानी लिएका, दुई लाख ८९ हजार पाँचसय ९४ नेपाली र ६९ हजार सात सय ७५ भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ ।
पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिक बाहेक थाइल्याण्डका आठ हजार दुइ सय ४७, श्रीलंकाका पाँच हजार सात सय २१, म्यान्माका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुई सय ३५, कोरियाली दुई हजार छ सय २९, चिनिया एक हजार दुई सय आठ र अन्य देशका सात हजार छ सय ७५ जना राहदानीका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
गत वर्ष सन् २०२२ मा यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका राहदानी दुई हजार छ सय ८७, नेपाली दुई लाख ८९ हजार पाँच सय ९४ र भारतीयको संख्या ६९ हजार सात सय ७५ रहेको थियो ।
तेस्रो मुलुकका राहदानी लिएकाको गणना गर्दा भियतनामी छ हजार नौ सय २३, थाई चार हजार तीन सय ८०, श्रीलंकन एक हजार आठ सय ८५, म्यान्मा एक हजार चार सय ९५ तथा अन्य नौ हजार दुई सय ५९ छन् ।