नेपालगन्ज : नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीका कार्यकर्तामा उचित प्रशिक्षणको कमी रहेको बताएका छन् । पार्टीभित्रको चरम गुटका कारण कार्यकर्तामा निराशा छाएको उनको भनाई छ ।
दूरसञ्चार डटकमसँग कुराकानी गर्दै संविधान सभाका सदस्य समेत रहेका बाल्मिकीले भने, ‘नेपाली काँग्रेसका कार्यकर्तामा उचित प्रशिक्षणको कमी छ, पार्टीमा गुटभित्र पनि आफ्नो मान्छे, आफ्नो मान्छेमा पनि आफुलाई काम लाग्ने मान्छेको खोजी भइरहेको छ, चाप्लुसी र चाकडी गर्ने मान्छे खोजी गर्छन् नेताहरुले ।’
नेताको ब्यक्तीवादी चरित्रले गर्दा केही काँग्रेस कार्यकर्ताहरु अन्य पार्टीमा प्रवेश गरिरहेको उनले बताए । स्थानीय तहमा निर्वाचित काँग्रेस नेताहरुले आफ्नो कार्यशैलीलाई सुधार्न नसकेको केन्द्रीय सदस्य बाल्मिकीले सुनाए ।
‘जसले गर्दा कार्यकर्ताले मरी मरी प्रचार गर्ने र निर्वाचित भइसकेपछि लोभ लालचमा उहाँहरुले कार्यकर्ताहरुलाई नहेर्ने जस्ता प्रवृत्तिहरु छन्,’ उनले थपे । केन्द्रीय सदस्य बाल्मिकीले करिव १० महिनादेखी रोकिएको पार्टी केन्द्रीय समितिको बैठक चाडो बोलाउनुपर्ने माग गरे ।
भिडियो हेर्नुस् :
पार्टीमा देखा परेको समस्याका बारेमा पार्टीको बैठकमा छलफल चलाइनुपर्ने उनले बताए । कार्यकर्तालाई उर्जा प्रदान गर्नका लागि पार्टीको बैठक बोलाउनुपर्ने बाल्मिकीको सुझाव छ । ‘कार्यकर्तामा जोश र जाँगर उत्पादन गर्ने नेपाली काँग्रेसले गरेको छैन, नेताहरु ब्यक्तीवादी भईसके, आफ्नो चाकडी गर्नेलाई मात्र हेर्ने, कार्यकर्ताले आफ्नो कुरा राख्न नपाउने अवस्था छ,’ उनले थपे ।
अर्को प्रसङ्गमा केन्द्रीय सदस्य बाल्मिकीले संसदबाट पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गर्ने काम मात्रै गरेको बताए । ‘यो दुबै सदनले पारित गरिसकेको कुरा हो, विधान सम्मत छ । संसदबाट पारित भएका कुरालाई मात्र राष्ट्रपतिले प्रमाणिकरण गर्न पाउँछन्,’ उनले भने ‘यो त पहिल्यै सोच्नुपर्ने थियो नि, आमालाई प्रजनन स्वास्थ्यको अधिकार दिइन्छ भने आमाको नामबाट नागरिकता दिन किन नमिल्ने ?’ जन्मशिद्धका आधारमा नागरिकता दिइसकेपछि तिनका बाल बच्चालाई नागरिकता दिन किन नमिल्ने ? भन्दै उनले प्रश्न गरे ।