काठमाडौं : नेकपा एकिकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न भएको सो संगठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई निर्वाचित गरेको हो ।
नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास सफल नभएपछि निर्वाचन गराइएको थियो । निर्वाचन समितिका अनुसार आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामबाट सुवेदीले निकटतम प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतको अन्तरले पराजित गर्दै निर्वाचित भए ।
सुवेदीले १ सय ४७ मत प्राप्त गरेका छन्, भने खड्काले एक सय १९ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे । यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुल्ली, महिला उपाध्यक्षमा अस्मिता गिरी, उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट निर्वाचित भएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिएका छन् ।
यस्तै महासचिवमा रामकुमार एलन १ सय ३९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी हृदय भुसालले १ सय ३० मत प्राप्त गरेका छन् । उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढामगर र लेखनाथ सिकारु निर्वाचित भए । सचिव खुलामा शिवप्रसाद ढुंगाना, अनिल शाही र पूर्णबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी सचिव (महिला) मा क्रान्ति न्यौपाने, सचिव (दलित)मा प्रदीप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएका छन् । त्यस्तै सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट , उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट÷प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित भएको समितिले जनाएको छ ।