चितवन : नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (डिएलए) को ११ औँ महाधिवेशनले सीताराम केसीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । केसी ६५३ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लक्ष्मीदेवी दाहाल रावलले १७७ मत प्राप्त गरिन् ।
यस्तै अर्का उम्मेदवार केदार कार्कीले १३०, लक्ष्मण थपलियाले ५५ र कृष्ण घिमिरे भुसालले ५३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । आइतबार बिहान सम्पन्न मतगणना अनुसार वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल विजयी भए ।
उनले ३१५ मत प्राप्त गरे भने, निकटतम् प्रतिस्पर्धी चन्द्रमणि अधिकारीले २६४ मत प्राप्त गरेका छन् । महिला उपाध्यक्षमा कविता थापा कार्कीले ६१९ मत प्राप्त गर्दा प्रतिस्पर्धी दीना श्रेष्ठले ४१२ मत प्राप्त गरिन् । यस्तै बागमती प्रदेश उपाध्यक्षमा जनराज श्रेष्ठ निर्वाचित भएका छन् ।
उनले १४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हेमन्तराज दाहालले १०९ मत प्राप्त गरे । कोशी प्रदेश उपाध्यक्षमा कविता बस्नेत, मधेश प्रदेश उपाध्यक्षमा रामानन्द साह, गण्डकी प्रदेश उपाध्यक्षमा भूमिश्वर शर्मा गौतम, लुम्बिनी प्रदेश उपाध्यक्षमा विष्णुप्रसाद धिताल, कर्णाली प्रदेश उपाध्यक्षमा पदमबहादुर शाही र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा गंगाराम पाध्याय निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले ३९५ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी पूर्णप्रकाश बस्नेतले २३६ मत प्राप्त गरे । यस्तै सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवतर्फ धनमाया राना, कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएका छन् ।
महाधिवेशनमा देशभरका ८८ एकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट १४१० जना महाधिवेशन प्रतिनिधि सहभागी थिए । यसमध्ये एक हजार ६१ मत खसेको थियो ।